काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।
सङ्क्रमण दर प्रत्येक दिन बढ्दै गए पनि मन्त्रालयले चौथो लहर भनेर घोषणा गरेको छैन । यद्यपि जनस्वास्थ्यविद्हरू कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । पछिल्लो समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएकाले चौथो लहर सुरु भएको उनीहरू बताउँछन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ओमिक्रोन भेरियन्टको बीए. ५ उपप्रजातिबाट चौथो लहर सुरु भएको उनको भनाइ छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने ओमिक्रोनको नयाँ सवभेरियन्ट बीए. ४ बाटै बढीलाई सङ्क्रमण भएको जनाएको छ । धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरी तीन जनामा ओमिक्रोनको सबभेरियन्ट बीए. ५ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।
असार २० गतेसम्म एक प्रतिशत रहेको कोरोना सङ्क्रमण दर अहिले ५ प्रतिशतभन्दा बढी छ । असार २७ गतेबाट कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा माथि पुगेको हो । २८ गते १७७ जना, २९ गते २०६ जना, ३० गते २६० जना, ३१ गते ३२ जना, २०५ साउन १ गते १३५ र २ गते ४५७ जना सङ्क्रमण पुष्टि भएको छ ।
तेस्रो महामारीका क्रममा फागुन महिनाबाट सङ्क्रमण दर क्रमशः घट्दै गएको थियो । गत माघ महिनामा सङ्क्रमण दर उच्च हुँदा ५० प्रतिशत पुगेको थियो । पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए.५ सङ्क्रमण हुन सक्ने त्रिवि शिक्षण अस्पताल (टिचिङ)का फोक्सो रोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।
अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्रमित
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरूमा स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुन थालेका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का डाक्टर प्रज्ज्वल श्रेष्ठका अनुसार तीन जना डाक्टर, तीन जना सफाइकर्मी, दुई जना नर्समा कोरोना सङ्क्रमण भएको छ । लक्षण देखिएर पीसीआर परीक्षण गराउने स्वास्थ्यकर्मीको दर बढिरहेको उनले बताए ।
यता त्रिवि शिक्षण अस्पतालमा ७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको डा. बमले बताए । उनले भने, ‘हिजोआज कोरोना सङ्क्रमणको लक्षण देखिएर परीक्षण गराउन आउने बिरामीसँगै स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण बढिरहेको छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार सङ्क्रमण देखिएर टेकु अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । एक सङ्क्रमित आईसीयूमा र अन्य ४ जनाको वार्डमा उपचार भइरहेको उनले बताए । यस्तै वीर अस्पतालमा ५ जना सङ्क्रमित भर्ना भएको डा. श्रेष्ठले जानकारी दिए । तीमध्ये दुई जनालाई अक्सिजन दिइएको उनले बताए ।
उता त्रिवि शिक्षण अस्पतालमा एक सङ्क्रमित भर्ना भएको अस्पतालका कोभिड–१९ संयोजक डा. बमले बताए । चिकित्सकहरूका अनुसार हालसम्म कोरोना सङ्क्रमण भई स्वास्थ्यमा जटिलता आइ अस्पताल भर्ना हुने दर भने न्यून छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कोरोना महामारीसँग जुध्न सबै संयन्त्रलाई सक्रिय बनाइसकेको बताए । नेपाल–भारत सीमा नाकामा कडाइ गरिएको उनले बताए । स्थलमार्ग र हवाई मार्गमा कडाइ गरिएको उनको जिकिर छ । सबै अस्पताललाई औषधि बेड र जनशक्तिका साथ तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए ।