काठमाडौं- खासगरी दसैं भन्नेबित्तिकै मासु जोडिएर आउँछ । एक हिसालबे भन्ने हो भने दसैं र मासु पर्यायबाची जस्तै बनेको पाइन्छ । अघिपछि पसलबाट एकदुई किलो किनेर खाने गरे पनि दसैंमा घरघरमा खसीबोका काट्नै पर्ने मान्यता छ । यसै कारण मासु बढी भएर बिरामी पर्ने सम्भावना पनि हुन्छ । त्यसैले मासुका परिकार बनाउँदा र खाँदा ध्यान दिन आवश्यक हुन्छ ।
दसैंमा विभिन्न समुदायले आ-आफ्नो परम्परा अनुसार मासु पोलेर, भुटेर, झोल बनाएर खाने चलन छ । नेवार समुदायले भने छोइला, कचेला, सेकुवा, भुटनलगायत थुपै्र परिकार बनाउँछन् । दसैंको पाहुनालाई पनि मासु नै पकाएर सत्कार गरिन्छ । यी सबै परिकार खाने क्रममा एउटा व्यक्तिले दैनिक आवश्यक क्यालोरी भन्दा बढी खाइरहेको हुन्छ । चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका हिसाबले भने उचित हुँदैन । खानु नै परेमा भने शरीरलाई ठिक्क हुनेगरी खानुपर्ने चिकित्सकहरु बताउँछन् ।
कतिपय अवस्थामा राम्रोसँग नपाकेको मासु खाँदा पनि समस्या हुन्छ । नेवार समुदायमा चर्चित मासुका परिकार कचिला, छोइला, सेकुवा, भुटनजस्ता परिकार राम्ररी नपाक्ने हुँदा समस्या आउन सक्छ । राम्ररी नपाकेको मासु खाँदा मासुमा हुने हानिकारक जीवाणु मरेका हुँदैनन् । यी मासुसँगै मानिसको शरीरमा प्रवेश गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
ढंग मिलाएर खान जानेमा दसैं स्वस्थ, स्वादिलो र रमाइलो बन्छ । पोषणविद्का अनुसार हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्याउनु पर्छ । ताजा मासु रातो देखिन्छ भने बासी मासु रंग उडेको र छाम्दा गिलो हुन्छ । यस्तो मासु प्रयोग गर्नु हुँदैन ।
दसैंमा मासु सञ्चित गरेर राख्ने चलन छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो हैन । दसैंमा सुकुटी बनाएर राख्ने, एकैपटक पकाएर राख्ने र तताउँदै खाने चलन स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसरी राख्दा मासुको स्वाद र भिटामिन नष्ट हुँदै जाने विज्ञ बताउँछन् । सुकुटी बनाउँदा मासुमा किटाणु जम्मा हुने, झिंगा भन्केर संक्रमित हुने, धुवाँ, धुलो जम्मा हुने, भिटामिन समेत नष्ट हुने, मासुको स्वाद बिगिने समस्या हुन्छ । पकाएर राखेको मासु तताउँदै खानाले पेटसम्बन्धी रोग लाग्ने स्वास्थ्यकर्मी बताउँछन् ।
मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ । मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ । भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ । मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन । कलेजोमा फलाम र कार्बोहाइड्रेट पाइन्छ । हड्डीमा क्याल्सियम पाइन्छ । मासु गलाएर पकाएको खण्डमा क्याल्सियम पनि पनि प्राप्त हुन्छ । मासुको कुुर्कुरे हड्डीमा क्याल्सियम पाइने हुनाले हड्डीसहित गलाएर पकाउनु राम्रो हुन्छ ।
ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ । मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ । टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन । टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ । मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनु पर्छ । मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ । शारीरिक श्रम गर्नेले भने ९० ग्रामसम्म खान सक्छन् । चाडपर्वका बेला मात्र खानेले २ सय ग्रामसम्म खाँदा असर गर्दैन । मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानु पर्छ ।
मासु बढी खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन । नियमित रुपमा अधिक मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली, मुटु, मिर्गौला, कलेजोको रोग लाग्ने चिकित्सक बताउँछन् । रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसीबोका, राँगाको मासु सकेसम्म कम खानु ठीक हुन्छ । यस्तो मासु नियमित खाँदा नसामा बोसो जम्मा भई मस्तिष्काघात र हृदयाघातको सम्भावना हुन्छ ।
मासु बढी खाँदा शरीरमा एन्टिअक्सिडेन्ट तत्व (एक प्रकारको बिषादी ) जम्मा भई पाचन प्रणालीका रोग लाग्छ । छालामा समेत असर गरी उमेर भन्दा पहिल्यै नै बुढो देखिने समस्या हुन्छ । त्यसैले सकेसम्म कुखुराजस्ता पन्छीको मासु र माछा खानु उपयुक्त हुने पोषणविद् सुझाउँछन् ।



