स्वास्थ्यका लागि सिस्नु बहुउपयोगी र बहुगुणकारी रहेको छ । पहिलेपहिले गरिबको आहारा रहेको सिस्नु अहिले पाँचतारे होटल र आकाश छुने बंगलाका भान्साघरमा पनि विशेष परिकारका रूपमा पाक्न थालेको छ । यसमा हुने खाद्य तत्वको पहिचान र स्वास्थ्य हितलाई ध्यानमा राखेर यसको महिमा गरिन थालिएको छ ।
किंवदन्तीमा सिस्नुको महिमा कम छैन । सृष्टिकालको पूर्वाद्र्धमा जनजाति समुदायले सिस्नु खाएर बाँचेको तर तात्कालीन शासक वा उच्च जातिले सिमलको बोक्रा खाएर जीवन गुमाएको कथा कम रोचक छैन । सिमलको बोक्रा निकालेपछि सुक्ने भएकाले सिमल खाने सबै मरेर गएछन् । तर, सिस्नु जति टिपेर खाए पनि जराबाट पलाइरहने हुनाले जनजाति तथा आदिवासी बाँचेछन् ।
महाभोकमरीको यो कथासँगै आज यथार्थता जोडिन आइपुगेको छ । अहिले उच्च, मध्यम एवं कमजोर आर्थिक स्तर भएका परिवारका लागि सिस्नु उत्तिकै प्रिय र रुचीकर बनिरहेको छ । हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीमा पाइने सिस्नुको योजनबद्ध खेती गरिन थालिएको छ । यसलाई टिप्न र बनाउन निकै कला र तरिका आवश्यक पर्छ ।
बहुगुणकारी सिस्नु हरियो तरकारी सागका रूपमा प्रयोग गरिन्छ । रायोको सागमा ३ सय ५० आईयू भिटामिन पाइँदा सिस्नुमा १२ सय आईयू भिटामिन पाइन्छ । यसमा भिटामिन ‘सी’ पनि अत्यधिक रूपमा पाइन्छ । साथै, आइरन, फमिक एसिडलगायतका अन्य तत्व सबैभन्दा बढी सिस्नुमा पाइन्छ ।
सिस्नुमा ८२ दशमलव ४ प्रतिशत पानी र १७ दशमलव ६ प्रतिशत सुक्खा पदार्थ पाइन्छ । ५ दशमलव ५ प्रतिशत प्रोटिन, ७ दशमलव १ प्रतिशत कार्बोहाइड्रेड, बोसोका साथै क्याल्सियम, म्याग्नेसियम, खनिज, क्लोरोफिल, क्रोमियम, कोवाल्ट, फलाम, फस्फोरस, पोटासियम, जिंक, तामा, सल्फर, नियासिन, म्यान्गानिज, सेलेनियम, भिटामिन ‘बी’, ‘सी’, ‘डी’ र ‘के’ पनि पाइन्छ । सिस्नु सेवनले पाचन प्रणाली मजबुत हुने, अपचको समस्या समाधान हुने, ग्यास्ट्रिक नियन्त्रण हुने हुन्छ । सिस्नोमा फाइबर हुने भएकाले भित्री पेटको सरसफाइ राम्रोसँग हुन्छ ।
सिस्नुको नियमित सेवनले किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइट ब्यालेन्स, रगत उत्पादन, हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ । सिस्नुको मेहन्दी बनाएर लगाएमा कपाल झर्नबाट रोकिन्छ । कपालको चायाँ हट्छ । महिलाको महिनावारी अनियमित बनाउँछ । स्त्रीरोग, मधुमेह, उच्च रक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुसंकता, बाँझोपनका बिरामीका लागि सिस्नु निकै उपयोगी हुन्छ ।
सिस्नु सेवनले रक्तसञ्चार प्रणालीअन्तर्गत मुटु, उच्च रक्तचाप, कलेजो संरक्षण, रक्त शुद्धीकरण र शरीरमा नयाँ कोषिका निर्माण गर्न मद्दत गर्छ । प्रोस्टेटका बिरामीका लागि पनि सिस्नु अत्यन्तै गुणकारी मानिएको छ ।
शुक्रकिट उत्पादन गर्न, भाँचिएको वा मर्किएको हाड जोड्न, आँखा तेजिलो बनाउन, अनुहारमा चमक ल्याउन, शरीर फुर्तिलो बनाउन, ढाड दुख्ने कम गर्न, घुँडा र जोर्नी दुखाइ हटाउन सिस्नोको पाउडर प्रयोगले ठूलो मद्दत गर्छ ।