काठमाडौं : तपाईको चैत्र महिना कस्तो रहनेछ हेर्नुहोस् मासिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यस महिनामा आर्थिक पक्ष कमजोर बन्नाले व्यावहारमा समस्या पर्न सक्छ। आयस्रोत कमजोर बन्नेछ भने सञ्चित रकम सकिनाले थालेको काम रोकिन सक्छ। आशा देखाउनेहरूबाट धोका पाइनेछ। समयमै आफ्ना कमजोरी सच्याउन नसक्दा दुःख पाइनेछ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ। आफ्नै हतियार पनि अलि सावधानीसाथ उपयोग गर्नुहोला। बैंक कर्जा र सरकारी कर चुक्ता गर्न हम्मे पर्नेछ। प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। बोलीको माध्यमले काम बन्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ। यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा यो महिना निकै फलदायी रहनेछ। अवसर खोज्नेहरूका लागि राम्रो मौका पाइनेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता प्राप्त हुने समय छ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम समेत प्रारम्भ गर्न सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरानो लेनदेनको विषयमा केही वादविवाद भने हुन सक्छ। आफ्नो अधिकारका लागि कडा रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ। केही रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। स्वास्थ्यमा टाउको दुखाइ वा पिनासको समस्याले सताउन सक्छ। यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यो महिना उपलब्धिमूलक रहनेछ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। योजना कार्यान्वयन गर्ने समय आएको छ। नयाँ अभियानको नेतृत्व लिने अवसर प्राप्त हुनेछ। नियमित प्रयासले कर्मसिद्धि हुनेछ। तारिफयोग्य काम गर्दै सामाजिक तथा राजनीतिक वृत्तमा चर्चित भइनेछ। विशिष्ट व्यक्तिसँग निकटता बढ्नेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। लगानी परे पनि दिगो काम, पेसा, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। महिनाको अन्त्यमा लामो समयदेखि रोकिएको कामसमेत सम्पादन हुनेछ। आयस्रोत सबल बन्नाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ। तर ठूलो काम आँट्न मोटो रकम कर्जा लिनुपर्ने हुन सक्छ। आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्ने सम्भावना देखिन्छ, समयमा सजग रहनुहोला। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दागर्दै पनि समय आफ्नो पक्षमा नरहन सक्छ। योजना ठूलो बन्नेछ। तर, धन र जनको अभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ। सानो उपलब्धिका लागि बढी रकम र श्रम खर्चनुपर्ला। उधारो व्यापारले व्यवसाय खस्किन सक्छ। सञ्चित रकम हातबाट बाहिरिने र उठ्नुपर्ने रकम हातलागी हुन मुस्किल पर्ने देखिन्छ। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। स्वास्थ्यका कारण काममा नियमित जुट्न समस्या पर्ला। तेस्रो सातापछि स्थितिमा सुधार आउनाले केही राहत मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। तत्काल फाइदा नभए पनि पछिका लागि काम गर्न सकिनेछ। यात्रामा अवरोध आउनेछ। अध्ययनमा भने पहिलेको साख जोगाउन सफल भइनेछ। यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति प्रतिकूल रहनाले यो महिना निकै संघर्षमय रहनेछ। सामान्य काम सम्पादन भए पनि सफलताको सिढी उक्लन समय लाग्नेछ। रकम प्राप्त भए पनि महत्त्वाकांक्षी काम बिग्रन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। मन अस्थिर बन्नेछ र आफ्नै अडानमा टिक्न समस्या पर्नेछ। भौतिक साधनतर्फ अधिक खर्च हुनेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। तर, काम बिग्रनाले हर्जाना तिर्नुपर्ने हुन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुपर्नेछ। चोटपटकको योग भएकाले सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ काम गर्न बाधा भए पनि नियमित काम सम्पादन हुनेछन्। अवसरका लागि दौडधुप र संघर्ष भने गर्नुपर्नेछ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कर्मक्षेत्र सबल देखिए पनि घर–गृहस्थी केही असामान्य रहने देखिन्छ। घरायसी समस्या सतहमा आउनाले आर्थिक पक्ष प्रभावित बन्न सक्छ। यात्रा, भोगविलास र भेटघाटले पनि महिना केही खर्चिलो रहनेछ। नियमित काम तथा पेसा–व्यवसायमा भने उल्लेख्य सुधार ल्याउन सकिनेछ। लगानी परे पनि नयाँ व्यवसाय थालनी गर्न सकिनेछ। स्थापित व्यवसायमा पनि नयाँ कार्य थालनी हुनेछ। खर्च लागे पनि यन्त्र, उपकरण तथा विलासी वस्तुहरू जुटाउन सकिनेछ। साझेदारीमा विशेष फाइदा हुनेछ। विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा देश–विदेशसम्म यात्रा गर्ने साइत जुर्न सक्छ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले आइपर्ने समस्या सजिलै समाधान हुनेछन्। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। प्रेममा खटपटी देखिए पनि मित्रताको बन्धन कसिनेछ। स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला। यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा यो महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। थालेको काम सजिलै सम्पादन हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दागर्दै पनि लक्ष्यको उचाइ प्राप्त गर्न मुस्किल पर्ने देखिन्छ। घरायसी कामकाजमा अधिक समय बित्नेछ। पेटको खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहनेछ। व्यापार तथा पेसा–व्यवसायमा मन्दीको प्रभाव पर्न सक्छ। उत्पादनले मूल्य नपाउँदा कृषकहरूको लगानी जोखिममा पर्न सक्छ। आयआर्जनमा कमी आउने हुँदा समयमै आम्दानी र खर्चको सन्तुलन मिलाउनुहोला। लेनदेन गर्दा पनि आफ्नो मूलधन सुरक्षामा सजग रहनुहोला। नोकरीमा अरूको दबाब झेल्नुपर्ने समस्या आउला। अप्ठ्यारो समयमा सहयोगी र शुभचिन्तकहरू टाढा हुनेछन्। विद्यार्थीहरूमा निद्रा तथा आलस्य जाग्ने र सहपाठीहरूको तुलनामा कमजोर भइने सम्भावना छ। तापनि अवसरका लागि मिहिनेत, दौडधुप र संघर्षका प्रयास हुनेछन्। उपलब्धि कम भए पनि पहिलेको साख जोगाउन प्रयत्न गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अर्थ अभाव र पारिवारिक मतभेदले नयाँ योजना थाल्न समस्या पर्नेछ। आफन्तको विश्वास भरपर्दो नहुन सक्छ। सामाजिक प्रभाव कमजोर बन्नाले आफ्नो मान्यताबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। घरायसी कामको जिम्मेवारी बढ्नेछ। सगोलको सम्पत्ति र साझेदारीमा भने वादविवाद निम्त्याउने ग्रहयोग छ। नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्छ। कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ। समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। व्यावहारिक समस्या देखिए पनि धैर्यले काम लिनुहोला, दाजुभाइ र शुभचिन्तकको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। तत्काल धेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन भने सफल भइनेछ। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति प्रतिकूल देखिए पनि मिहिनेतले उत्साहजनक नतिजा हासिल गर्न सकिनेछ। नयाँ अवसर खोज्नेहरूका लागि यो महिना उत्साहवर्धक रहनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। पहिले रोकिएका काम पनि सम्पादन हुनेछन्। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भने भागबन्डा लाग्ने सम्भावना छ। महिनाको अन्त्यमा भने पारिवारिक असमझदारी बढ्न सक्छ। अधिक खर्च बढ्ने र काम रोकिने ग्रहयोग पनि देखिन्छ। सावधानीले स्थिति अनुकूल बनाइराख्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि उपलब्धि हासिल गर्न निकै मिहिनेत गर्नुपर्ला। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। अरूको भरपर्ने बानीले आशा गरिएको फल प्राप्त नहुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनुहोला। सामाजिक जिम्मेवारी समयमा वहन गर्न नसक्दा आलोचित बन्नुपर्ला। आफ्नो साख जोगाउन अधिक रकम खर्चनुपर्ने हुन सक्छ। रकमको सञ्चिति घट्नेछ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। व्यवसायमा केही मन्दी आए पनि दिगो काम प्रारम्भ गर्न सकिनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुट्नेछ। मिहिनेतअनुसार प्रशंसा, पुरस्कार आदि प्राप्त गर्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन्। केही अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। आफ्नो क्षेत्राधिकारमा अरूले राज गर्नेछन्। घर–परिवारमा असमझदारी बढ्नेछ। सानो काममा लामो समय बित्नेछ। प्रतिष्ठाको द्वन्द्वमा श्रम, समय र धन खर्च हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। कामको चाप बढ्नेछ तर श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुने समय छ। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हटाउन सफल भइनेछ। मनको डर इच्छाशक्तिमा रूपान्तरण हुनेछ। विद्यार्थीहरूको लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। ठूलो उपलब्धि नभए पनि मिहिनेत गर्दा आंशिक सफलता प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। पेसागत जिम्मेवारी बढ्नेछ। मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्। यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।