Wednesday, January 15, 2025
राशिफलमाषिक राशिफल२०८१ जेठ महिनाको मासिक राशिफल

२०८१ जेठ महिनाको मासिक राशिफल

यस महिनामा शुभ ग्रहस्थितिले गर्दा कमजोर राशिहरूलाई पनि उपलब्धि प्राप्त हुनेछ। मेष, कर्कट र मीन राशिलाई लाभदायक समय रहनेछ भने वृष, सिंह र धनु राशिलाई पनि सामान्यतया राम्रो फल प्राप्त हुनेछ। मिथुन, कन्या, तुला र वृश्चिक राशिले भने केही चुनौती झेल्नुपर्नेछ। कुम्भ र मकर राशिलाई पनि मध्यम फल प्राप्त हुनेछ। सबैभन्दा राम्रो फल मीन राशिलाई प्राप्त हुनेछ जसले शत्रु र रोगमाथि विजय हासिल गर्नेछ। कर्कट राशिलाई पनि स्वरोजगारका अवसर प्राप्त हुनेछन्। वृष र सिंह राशिले पेशा व्यवसायमा राम्रो लाभ उठाउने छन्। धनु राशिलाई प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्ने मौका छ भने मकर राशिले कृषि र पशुपालनमा फाइदा लिनेछन्। अर्कोतर्फ मिथुनलाई स्वास्थ्य बाधा र कानुनी अड्चनले जोशजाँगरमा कमी आउनेछ। कन्या राशिले प्रेम र दाम्पत्यमा खटपट झेल्नुपर्नेछ भने तुला राशिका स्वास्थ्यसमेत कमजोर रहनेछ। वृश्चिक राशिलाई पारिवारिक कलह र साझेदारबाट समस्या पर्नेछ। कुम्भ राशिलाई पुराना समस्या दोहोरिने र साझेदारीमा विवाद आउनेछ।  शुभ ग्रहस्थितिले गर्दा धेरैजसो राशिलाई फाइदा हुनेछ तर कतिपयले चुनौती पनि भोग्नुपर्नेछ।

मेष (२०%) – अध्ययन, अनुसन्धान र लेखनतर्फ जुट्नेहरूलाई जेठ महिनाले सफलता दिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। तर धन र शक्तिको उपयोग गर्नेहरूलाई महिना उतारचढावमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्ने सम्भावना छ। चिताएको काम रोकिने हुँदा चिन्ता बढ्न सक्छ। लाभ हुने काम बनाइदिन्छु भन्नेहरूले झुक्याउन सक्छन्। भएको धन हराउने, नष्ट हुने वा ठगीमा परिने जोखिम रहेकाले सावधानी अपनाउनुहोला। अनावश्यक किनमेल तथा मर्मत–सम्भारमा अधिक खर्च हुनेछ। सरसापट, उधारो व्यापार र असुरक्षित लगानीतर्फ रकम बाहिरिन सक्छ।

वृष (६०%) – कामको नतिजाले उत्साहित हुन सकिनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। प्रतिभा प्रदर्शन गरेर मान–सम्मान प्राप्त गर्न सकिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। समाजका अगुवासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा नेतृत्व लिने अवसर प्राप्त हुनेछ। तर मनमा उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा केही उतारचढाव आउनेछन्। वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्नेछ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताइरहनेछ। बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुग्न सकिनेछ।

मिथुन (३०%) – नसोचेको व्यवधान आउन सक्छ। लागत अध्ययन नगरी काम थाल्नाले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। स्वास्थ्य बाधा र कानुनी अड्चनले जोशजाँगरमा कमी आउनेछ। सहयोगीहरूले प्रतिज्ञा पूरा नगर्ने सम्भावना छ। व्यवसायमा नाफाभन्दा निर्वाहमूलक कार्य गर्न बाध्य भइनेछ। विदेश ताक्नेहरूलाई समय उपयुक्त हुन सक्नेछ। मिहिनेत गर्दा विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र लेखनमा सुधार आउनेछ।

कर्कट (८०%) – सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम सम्पादन हुनेछन्। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। हराएको नगद प्राप्त हुनेछ। व्यापार घाटा, उधारो तथा सरसापटमा गएको रकम समेत उठाउन सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्न सक्नेछ। विद्यार्थीहरूको अध्ययन पनि प्रगति हुनेछ।

सिंह (७०%) – स्वास्थ्य कमजोर देखिए पनि कर्मले उचाइमा पुर्याउनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ। स्वास्थ्यका लागि सन्तुलित आहार, व्यायाम र विश्राममा भने ध्यान पुर्याउनुपर्नेछ।

कन्या (५०%) – योजना ठूलो बन्नेछ। तर काममा केही चुनौती देखापर्नेछन्। आपसी मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। सहयोगीहरूको साथ–सहयोग प्राप्त हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। सेयर तथा लगानीको मूल्य कमजोर भएपनि उपलब्धि र साख जोगाउन सफल हुनेछ।

तुला (३५%) – स्वास्थ्य कमजोर बन्नुका साथै काममा बाधा पर्न सक्छ। पेसा–व्यवसायमा लगानी अड्किन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने अवस्था आउनेछ। काम रोकिनाले आयस्रोत कमजोर हुनेछ। भ्रष्ट व्यक्तिहरूले दुःख दिनेछन्। अस्वस्थताले काममा पछि परिनेछ। आफ्नैले हतोत्साहित गर्नेछन्। चोटपटकको योग छ। धैर्यसाथ प्रयत्न गरे समस्या समाधान हुनेछन्।

वृश्चिक (४०%) – पारिवारिक माहोल असन्तुलित बन्नाले सामाजिक प्रभाव कमजोर हुनेछ। परिवेश रमाइलो देखिए पनि व्यावहारिक समस्या आइरहनेछन्। आलस्य गर्ने प्रवृत्तिले काम रोकिने र मन्दी आउनेछ। साथीभाइ र शुभचिन्तक असन्तुष्ट हुनेछन्। घरपरिवारमा असमझदारी बढ्नेछ। केही समस्या सुल्झाउनुपर्नेछ। तर पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। महिनाको उत्तरार्धमा स्थिति अनुकूल हुनेछ। मिहिनेत गर्दा आर्थिक स्थितिमा सुधार आउनेछ।

धनु (६५%) – चिताएको काम बन्नाले महिना उत्साहवर्धक रहनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। भविष्यका लागि नयाँ काममा जुट्न सकिनेछ। प्रयत्न गर्दा नयाँ अवसर पनि प्राप्त हुनेछन्। भूमि, आवश्यक साधन, सवारी आदि जोड्ने समय छ। तर स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो, दम वा मौसमी समस्याले सताउन सक्छ। कृषि र पशुपालनमा समस्या आउन सक्छ। अरूको बहकावटमा लाग्दा व्यवहार अस्थिरता आउन सक्छ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। परिवारमा विग्रह निम्त्याउने सम्भावना देखिएकाले सावधान रहनुपर्छ। बुद्धिले काम गर्दा फाइदा हुनेछ।

मकर (५५%) – लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। स्वास्थ्य समस्याले पूर्ण समय काममा जुट्न नसकिनेछ। सहयोगीहरूको साथ पाइनेछ। शुभचिन्तकको प्रेरणाले उपलब्धि हुनेछ। धेरै आर्जन नभएपनि दिगो काममा थालनी हुनेछ। कृषि र पशुपालनमा विशेष फाइदा हुनेछ। अड्किएका कामसमेत पुनः प्रारम्भ हुनेछन्। घरमै बसेर आम्दानी हातपार्न सकिनेछ। विद्यार्थीहरूको अध्ययन प्रगति हुनेछ। लेखन कलामा पनि सुधार गर्न सकिनेछ। स्वरोजगार बन्न सफल हुनेछ।

कुम्भ (४५%) – पुराना समस्या दोहोरिन सक्छन्। अधिक परिश्रमले थकान र कमजोरी आउनेछ। अज्ञानता र बलजफ्तीले काम बिग्रन सक्छ। साझेदारी तथा सगोलमा विवाद आउने हुँदा घरायसी माहोल असन्तुलित हुनेछ। तर सहयोगीहरूले साथ दिनेछन्। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु उपयुक्त हुनेछ। व्यवहार सुधार्न सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्नेछ। नयाँ योजना थाल्न समय अनुकूल हुनेछ। कृषि र पशुपालनबाट लाभ हुनेछ। उठ्नुपर्ने रकम अड्किने सम्भावना छ।

मीन (८०%) – चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भित्र्याउन सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पद–प्रतिष्ठा प्राप्त हुनेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नो मात्र निर्णय लागू गर्दा समस्यामा पर्न सकिन्छ। बोलीको लय कठोर भएर सहयोगी टाढिन सक्छन्। जटिल काममा एक्लै जुट्नुपर्ने चुनौती आउन सक्छ। व्यवहारले परिस्थिति अनुकूल बनाउने प्रयास गर्नुहोला।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img