अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’ मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।
नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले भागवत गीता छोएर शपथ लिएका थिय ।
शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलव्धि भएको टिप्पणी गरे ।
भण्डारीले अगाडि थपे , ‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटोसमेत राखेका छन् ।
यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा. भण्डारीले गीताको सारजस्तै कर्म गर्न आफू लागिरहने बताए । सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने उनि बताउछन । नेपाली समुदायका अगुवाहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भण्डारी मेरिल्यान्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिस्ट्रिक ८ बाट १९ हजार सात सय दुई मत ल्याएर गएको नोभेम्बर महिनाको ८ तारिखमा भएको चुनावमा विजयी भएका हुन् । उनि त्यस क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल भएका थिय । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।
अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् २००५ मा अमेरिका पुगेका भण्डारीसंग डेढ दशकभन्दा बढी मेरिल्यान्डको विद्यालयमा अध्यापन गराएको अनुभव छ भने मेरिल्यान्डमा रहेको युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारिधिसमेत गरेका छन् । नेपालको पर्वतको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मनुभएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन् ।
व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनका लागि मात्र नभइ एसियाली अमेरिकनका लागि पनि रोचक रहेको छ । आउँदो चार वर्ष भण्डारीले मेरिल्यान्ड राज्यको विधायकको रूपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नेछन ।