काठमाडौं- धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ। सहिदभूमि गाउँपालिका-७ का २२ वर्षीय रविन पौडेल अध्ययनका लागि जापान पुगेका थिए।
तीन महिनाअघि जापान पुगेका पौडेलको आइतबार मिए युनिभर्सल हस्पिटलमा हृदयघातका कारण मृत्यु भएको हो। उनी मिए जापानिज भाषा स्कुलमा अध्ययनरत थिए।
जापानी समय अनुसार आइतबार बिहान ३:५४ बजे पौडेललाई हृदयघात भएपछि उपचारका क्रममा बिहान ४:४५ बजे निधन भएको जापानस्थित नेपाली संघले जनाएको छ। शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ।
पछिल्लो समय जापानमा तीन जना नेपाली युवाको मृत्यु भएको छ। जापानको वास्तविकतासँग मानसिक तयारी नहुँदा तनाव भइरहेको जापानमा रहेका नेपालीहरूले बताएका छन्।
एक सातायता जापानमा तीन जना नेपाली युवकको मृत्यु भइसकेको छ। धनकुटाको पौडेलसहित लमजुङको युवराज तामाङ, नुवाकोटको अनोज कार्कीको मृत्यु भएको छ। मानसिक रुपमा पूर्ण तयार नभई जापान प्रवेश गर्नु, सोचेको जापान र वास्तविक जापानमा भिन्नता पाउँदा, यहाँको प्रक्रियामा घुलमिल नसक्दा मानसिक तनाव भएर मृत्यु भएको हुनसक्ने धनकुटा घर भई हाल जापान बस्दै आइरहेका योमन देवानले बताए।