काठमाडौं | तीन दिनदेखि जारी तनावको अन्त्य गर्दै भारत र पाकिस्तान पूर्ण युद्धविराम गर्न सहमत भएका छन्। दक्षिण एसियाका यी दुई परमाणु शक्ति राष्ट्रबीचको यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्भव भएको हो। ट्रम्पले अमेरिकी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविरामको घोषणा गरेका छन्।
ट्रम्पले लेखेका छन्, “अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु।”
भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार युद्धविराम भारतीय समयअनुसार शनिबार साँझ ५ बजेबाट लागू हुनेछ। उनले जमिन, आकाश र समुद्रसहित सबै सैन्य गतिविधि रोक्ने सहमति भएको बताए।
भारत–पाकिस्तान दुबै देशको आधिकारिक पुष्टि
- भारतीय विदेशमन्त्री एस. जयशंकरले ट्वीट गर्दै भारतले सधैं आतंकवादको विरोध गर्दै आएको र यो युद्धविराम भविष्यको स्थायित्वका लागि महत्त्वपूर्ण कदम भएको उल्लेख गरेका छन्।
- पाकिस्तानका विदेशमन्त्री इशाक डारले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै पाकिस्तान सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै क्षेत्रीय शान्तिको पक्षमा सदैव उभिएको बताएका छन्।
अमेरिकी नेतृत्वमा कूटनीतिक सक्रियता
पाकिस्तानी विदेशमन्त्री डारले तीन दर्जनभन्दा बढी मुलुकको सक्रियताले यो सहमति सम्भव भएको बताएका छन्। उनले विशेषगरी अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कूटनीतिक पहलको खुलेर प्रशंसा गरे।
विदेशमन्त्री रुबियोले पनि युद्धविराममा आफ्नो टोलीको सक्रिय भूमिका रहेको बताउँदै पछिल्लो ४८ घण्टामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, र दुबै देशका उच्च अधिकारीहरूसँग निरन्तर संवाद भएको जानकारी दिए।
पाकिस्तानी हवाइ प्राधिकरणले लामो समयदेखि बन्द गरिएको हवाइ आकाश पूर्ण रूपमा खुला गरिएको घोषणा गरेको छ। योसँगै भारत–पाकिस्तानबीच अब तटस्थ स्थानमा प्रत्यक्ष वार्ताको सम्भावना बढेको छ।



