हेटौँडा | बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले सधैं व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। शनिबार हेटौँडामा सम्पन्न नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभामा प्रमुख अतिथि रहँदै बोल्दै मन्त्री काफ्लेले मोबाइल व्यवसायसँग जोडिएका समस्याहरूलाई समाधान गर्नेतर्फ सरकार गम्भीर रहेको बताए।
उनले पुराना मोबाइल सेटहरू भन्सार छलीमार्फत नेपाल भित्रिने प्रवृत्तिलाई कानुनीरूपमा व्यवस्थापन गरी मर्मतपश्चात पुनः प्रयोगमा ल्याउने महासंघको प्रस्तावलाई “राष्ट्रिय एजेन्डा” को रूपमा अघि बढाइने स्पष्ट पारे। भन्सार र नीतिगत सहजीकरणका सवालमा प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी समाधान खोज्ने तयारीमा रहेको उनको भनाइ थियो।
कार्यक्रममा करिब एक हजार मोबाइल व्यवसायीको उपस्थिति रहेको थियो। सभामा मोबाइल व्यवसायको वर्तमान अवस्था, नीति, सम्भावना र चुनौतीबारे गम्भीर छलफल गरिएको थियो। महासंघले यो साधारणसभाबाट व्यवसाय सुधार, नीति निर्माणमा पहुँच, र व्यवसायी सशक्तिकरण को लागि महत्वपूर्ण मार्गचित्र तय हुने विश्वास लिएको छ।
कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईको सभाध्यक्षता, तथा मन्त्री काफ्लेको प्रमुख आतिथ्य थियो। हेटौंडा उपमहानगर प्रमुख मीना कुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, मोबाइल फोन इम्पोर्टर एशोसिएसन नेपाल अध्यक्ष दीपक मल्होत्रा, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद सिंह रानाभाट, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
साधारणसभाअघि शान्तिपूर्ण व्यवसायी पदयात्रा समेत गरिएको थियो। कार्यक्रमस्थलबाट सुरु भएको यात्रा पारिजात पथ, स्कुल रोड, कान्तिराज पथ, हरिकुञ्ज रोड हुँदै संघचोक भएर पुनः कार्यक्रमस्थलमै समापन भएको थियो। सभा तयारी संयोजक तथा महासंघका उपाध्यक्ष छतेन्द्र आचार्यका अनुसार, यस यात्राले व्यवसायीको एकता र मागको सार्वजनिक प्रदर्शन गर्ने उद्देश्य राखिएको थियो।



