समाजहेटौँडामा तीनदिने प्रदेश युवा सम्मेलन हुने, सातै प्रदेशका युवाको सहभागिता

हेटौँडामा तीनदिने प्रदेश युवा सम्मेलन हुने, सातै प्रदेशका युवाको सहभागिता

हेटौँडा | बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेशस्तरीय युवा सम्मेलन हेटौँडामा आयोजना हुने भएको छ। भोलिदेखि सुरु हुने सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनमा बागमतीसहित सातै प्रदेशका युवाको सहभागिता रहनेछ।

कार्यक्रममा डिजिटल सुशासन, प्रविधि र युवा, शिक्षा, सीप र सृजनशीलता, जलवायु परिवर्तन र दिगो विकास, सीपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति नेतृत्वमा युवाको भूमिका, र मुख्यमन्त्रीसँग प्रत्यक्ष युवा संवादजस्ता विषयमा ६ वटा फरक–फरक सत्रमा छलफल हुनेछ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार सम्मेलनमा मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नेछन्। परिषद्ले यो सम्मेलनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सम्मेलनको एक विशेष सत्रमा युवा पुस्ताका प्रेरणादायी सफलता कथाहरु समेत प्रस्तुत गरिनेछ।

प्रदेशका ११९ पालिकाबाट सिफारिस प्राप्त एक–एक जना युवा प्रतिनिधि, अनलाइन आवेदनमार्फत छनोट भएका युवा, र सातै प्रदेशका सामाजिक विकास मन्त्रालय वा प्रदेश युवा परिषद्को सिफारिसमा आएका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने छन्।

चौलागाईंका अनुसार, “यो सम्मेलनले युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन दिने र तिनको नीति निर्माणमा सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img