- अर्जुन दाहाल
उ आँफैमा एउटा पुस्तक हो
प्रायले पढिसकेको
एक थोत्रो पुस्तक।
उसले कैयौँ दिनहरू
आकाशको छत मुनि
जमीनको खाटमा बिताएको छ ।
कैयौँ रातहरु
वायुको भोजन गरेर
पसिनाको आएको पानी पिएर बिताएको छ
वर्षका छ नै ओटा ऋतु
उसले आधा जिउ ढाक्ने
एक सरो च्यात्तिएको कपडा लगाएर बिताएको छ
बिना चप्पल र जुत्ता।
उसको लागि संसारमा
सम्पूर्ण सृष्टिको रचइता ईश्वर बाहेक
अरु कोही पनि छैन।
उ आफैंमा आफ्नो चिता हो
उ आफैंमा एक लास हो
उ आँफै आफ्नो मलामी हो
उ आँफै आफ्नो परिवार हो।
सडक किनारमा बसेर
सांसारिक मोह मायामा फसेर
धन – सम्पत्ति, इष्ट मित्र देखि
जागिर र दैनिक जीवनयापन गर्ने
मानिसलाई उ हेर्छ
उ एक विश्लेखक हो ।
जीवनमा सुखको मात्रा
अत्यन्त न्यून देखेको
उ एक अनाथ हो
अनाथ भएर के भो त
जीवनको भोगाइ झेलेको
उ एक पुस्तक हो
मैले भनिहाले नि
उ एक थोत्रो पुस्तक हो
प्रायले पढेका
अनि त्यस थोत्रो पुस्तकबाट
संसारलाई हेर्दै
उ भित्रको ईश्वर हाँसिरहेको छ ।
उनकै भनाईमा – उनि मनमौजी लेखक हुन, मनमा आएको कुरा लेख्छन।