सुनसरी / आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले व्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।