काठमाडौं / नेपालमा तीन महिनामा साढे तीन करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ ।
भन्सार विभागले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्याङ्कअनुसार नेपालमा १६ लाख ९६ हजार दुई सय १२ बुक तास आयात हुँदा तीन करोड ५९ लाख १० हजार रुपैयाँ बाहिरिएको छ ।
देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले विलासी वस्तुको आयातमा बन्देज र कडाइ गरेको छ तर विलासिताकै वस्तुमा गणना हुने तासको आयात भने डरलाग्दो देखिएको छ ।
तीन महिनामा चीनबाट १६ लाख ५६ हजार बुक तास आयात गर्दा तीन करोड २५ लाख रुपैयाँ र भारतबाट ४० हजार एक सय बुक तास आयात गर्दा ३३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।- रासस