काठमाडौं। वैशाख १२ गते, २०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा भएको छ। त्यस दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।
राष्ट्रिय योजना आयोगको तथ्यांक अनुसार उक्त भूकम्पबाट ८ हजार ८९१ भन्दा बढी व्यक्तिले ज्यान गुमाए भने २२ हजार ३०० भन्दा बढी घाइते भए। करिब ३५ लाख मानिसहरू घरबारविहीन बने।
भूकम्प अति प्रभावित जिल्लाहरुमा ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर रहेका छन्। यस्तै कम प्रभावित जिल्लाहरुमा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी र पश्चिम नवलपरासी रहेका छन्।
तर, विगत नौ वर्षको अवधिमा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरु प्रभावकारी रुपमा सम्पन्न गर्न नसकेको गुनासो छ। अझैपनि धेरैजसो पीडितहरु सुरक्षित बासको अभावमा छन् भने घाइतेहरुको अवस्था समेत दयनीय रहेको छ।