गोरखा | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ धुम्चामा भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुम्चाका करिब ४३ वर्षीय रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षीय हिसेदोर्जे लामा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
चुम्लिङ र सिप्चेत बीचको धादाङकोक भन्ने स्थानको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर दुवै जनाको ज्यान गएको हो। मृतकका आफन्त नुर्बु दोर्जेका अनुसार आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक सकेर फर्किने क्रममा रिञ्जिन हराएका थिए। गाउँलेले खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव भेटिएको थियो।
रिञ्जिनको शव भेट्टाउने क्रममा हिसेदोर्जे पनि खोलातर्फ जाँदा सोही स्थानबाट खसेर मृत्यु भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
घटनापछि प्रहरी उपरीक्षक भरतबहादुर विकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।



