हेटौँडा। यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि सबै सवारीसाधनमा हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने भएको छ । विभागले मंगलबार सार्वजनिक गरेको सूचनामा सवारी दर्ता, नामसारी तथा नवीकरण प्रक्रियामा अब इम्बोस्ड नम्बर प्लेट जडान नगरी सेवा पाउन नसक्ने स्पष्ट गरेको छ ।
विभागले सवारीधनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा उपस्थित भई अनिवार्य रूपमा नम्बर प्लेट जडान गराउन आग्रह गरेको छ । यसअघि गत २० साउनमा बसेको विभागअन्तर्गतको विषयगत समितिको बैठकले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
इम्बोस्ड नम्बर प्लेटलाई हाइ सेक्युरिटी प्रणालीअनुसार तयार पारिएको भन्दै विभागले यसले सवारी चोरी नियन्त्रण, दुर्घटना अनुसन्धान र सडक सुरक्षामा महत्त्वपूर्ण सहयोग पुग्ने जनाएको छ । विभागका अनुसार तोकिएको म्यादभित्र नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई कानुनअनुसार कारबाही गर्ने तयारी गरिएको छ ।



