हेटौंडा | बागमती प्रदेश सरकारले यसवर्ष पनि गाईभैंसीमा लाग्ने लम्पी स्किन डिजिज (एलएसडी) रोगको रोकथाम र नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो। अभियान साउन २५ गते शुक्रबारदेखि सुरु भई साउन ३१ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा एकसाथ सञ्चालन गरिनेछ।
लम्पी स्किन डिजिज पक्सविरिडे समूहको क्याप्रिपक्स भाइरसबाट फैलने एक प्रकारको विषाणुजन्य रोग हो, जसले विशेषगरी गाईभैंसीलाई असर गर्छ। यो रोग नेपालमा पहिलोपटक वि.सं. २०७७ साल असारमा पुष्टि भएको थियो र हालसम्म देशभरका ७७ वटै जिल्लामा फैलिएको छ। यस रोगका कारण गाईभैंसीको स्वास्थ्यमा गम्भीर असर परेको छ, जसका कारण किसानहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। बागमती प्रदेशमा मात्र गत वर्ष २५६,७५९ पशुहरू प्रभावित भएका थिए, जसमध्ये ११,२१८ पशुहरूको मृत्यु भएको थियो ।
यो रोगको संक्रमण दर १०.२७ प्रतिशत र मृत्यु दर ३.१ प्रतिशत रहेको छ। खोप अभियानले यस रोगको फैलावटलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ, जसले गाईभैंसीपालक किसानहरूको आर्थिक स्थिति सुधार्न सहयोग पुर्याउँछ ।
लम्पी स्किन डिजिजको कारण सामन्यतया १०-२० प्रतिशत पशुहरू बिरामी हुने र करिब १-५ प्रतिशतसम्म मृत्यु दर देखिन सक्छ। विगतका वर्षहरूमा लम्पी स्किन डिजिजका कारण बागमती प्रदेशमा ठूला आर्थिक क्षति भएका छन्। यो रोग नियन्त्रणका लागि प्रभावकारी उपाय खोप लगाउने नै हो। यसै कारण, प्रदेश सरकारले यसवर्ष पनि खोप अभियानलाई निरन्तरता दिएको छ ।
गत वर्ष, बागमती प्रदेशमा २ लाख ८९ हजार डोज खोप वितरण गरिएको थियो, जसको परिणामस्वरूप रोग नियन्त्रणमा उल्लेखनीय प्रगति भएको थियो। यस वर्षको अभियानमा ७६ हजार २ सय ७५ पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
यो अभियान बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा एकसाथ सञ्चालन हुनेछ। प्रत्येक जिल्लामा स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालयहरू मार्फत खोप अभियान सञ्चालन हुनेछ। बागमती प्रदेशका प्रमुख प्रभावित जिल्लाहरूमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, र सिन्धुली रहेका छन्, जहाँ क्रमशः ४०१०१, २७९३५, र २८५५३ पशुहरू प्रभावित भएका छन् ।
खोप अभियान अन्तर्गत, ललितपुरमा ४६९४, चितवनमा १२५२३, र काठमाडौंमा ९८४४ पशुहरूलाई खोप लगाइएको छ। यसवर्ष पनि यही ढाँचामा खोप वितरण गरिने योजना छ ।
लम्पी स्किन डिजिजबाट बच्नका लागि खोप लगाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो। यो रोगबाट मानिसमा सर्ने खतरा छैन, र लम्पी स्किन डिजिज लागेका पशुको दूधको सेवनबाट मानिसलाई कुनै असर गर्दैन। प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले यस खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।