हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगमा स्वदेशी कच्चापदार्थको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्। १०औँ उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले हेटौँडामा आयोजना गरेको नवप्रवर्तक उद्यमी सम्मान समारोहमा बोल्दै उनले स्वदेशी स्रोतको सदुपयोगले कच्चापदार्थ आयातमा निर्भरता घटाएर आर्थिक बचत गर्न सकिने बताए।
मुख्यमन्त्री लामाले कृषिमा स्वदेशी बीउ उत्पादनको महत्त्व उजागर गर्दै नेपाली बजारमा टपरीको उच्च मागलाई दृष्टिगत गरी गुणस्तरीय उत्पादन गर्न सके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने धारणा व्यक्त गरे। उनले उद्योग सञ्चालनका लागि तीन तहको सरकारले आवश्यक जग्गा व्यवस्था गर्ने दायित्व निर्वाह गर्नुपर्ने र लगानीकर्तालाई सुरक्षित तथा प्रविधिमैत्री वातावरण प्रदान गर्नुपर्नेमा जोड दिए।
स्वदेशमै रोजगारी सिर्जना गर्नसके बेरोजगारी समस्या हल हुने बताउँदै उनले युवा पलायन रोक्न र आर्थिक स्थायित्वका लागि उद्योग र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्रीका अनुसार प्रदेश सरकारले उद्योग र कृषि क्षेत्रमा तीन अर्ब रुपैयाँ लगानी गरिसकेको छ। उनले सरकारले उद्योगी व्यवसायीका समस्याहरु समाधान गर्न ऐन तथा नियमहरूमा आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले उद्योग क्षेत्रको विकासले मात्र युवाशक्ति स्वदेश फर्काउन सकिने बताइन्। उनले साना उद्योगको प्रवर्द्धन र स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिँदै प्रदेश सरकारको लगानीलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गरिन्।
सम्मान समारोहमा काभ्रेपलाञ्चोकको झ्याम्बल कृषि फर्म उद्योग प्रालिलाई सर्वोत्कृष्ट उद्योग घोषणा गर्दै नगद एक लाख रुपैयाँसहित सम्मान गरियो। साथै, अन्य १० उत्कृष्ट उद्यमीलाई जनही ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यमा मुख्यमन्त्री लामा, प्रदेशसभा सदस्य भारती पाठक, र प्रमुख सचिव डा. हरिप्रसाद लम्साललगायतको उपस्थिति थियो।
मुख्यमन्त्री लामाको सम्बोधनले स्वदेशी कच्चापदार्थको सदुपयोग, रोजगारी सिर्जना, र आर्थिक विकासका लागि उद्योग क्षेत्रको महत्त्वलाई विशेष प्राथमिकता दिएको छ।