हेटौंडा | मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले सोमबार साँझ आफ्नो प्यानल सार्वजनिक गरेका छन्। हेटौंडामा व्यवसायीहरूको भेलामार्फत अग्रवालले आफ्नो अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै सिंगो टिम पनि सार्वजनिक गरे।
यस पटकको निर्वाचन संघको विधान संशोधनपछिको पहिलो निर्वाचन हो, जहाँ प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। संघका वाणिज्य, उद्योग, र एशोसियट तर्फका उम्मेदवारहरू निर्वाचनमा सहभागी हुँदैछन्।
घोषणापत्रमा संघको मूलभूत उद्देश्य, व्यवसायीको हकहितको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, संघको संस्थागत विकास, र आर्थिक मन्दीको प्रभाव कम गर्न ठोस रणनीति प्रस्तुत गरिएको छ। उद्योग, व्यापार, र व्यवसायलाई दिगो बनाउन सहयोग गर्ने, नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई सहजीकरण गर्ने, र अन्तर्राष्ट्रिय अनुभव तथा सफल अभ्यासलाई उपयोग गरी व्यवसाय प्रवर्द्धन गर्ने योजना अग्रवालको प्राथमिकतामा रहेको छ। साना व्यवसायीको समस्या समाधानका लागि विशेष कार्यदल गठन गर्ने र सहुलियतपूर्ण कर्जाको पहुँचमा सहजता ल्याउने योजना पनि समावेश छ।
कर तथा राजस्व प्रणालीमा सुधार गर्दै व्यवसायीहरूबाट लिइने करको एकरूपता र पारदर्शिता कायम गर्न तीनै तहका सरकारसँग सहकार्य गर्ने अग्रवालको प्रतिबद्धता छ। अनावश्यक कर भार घटाउन दबाब दिने, व्यवसायिक कर्जाको ब्याज दर स्थिर राख्न बैंकहरूसँग वार्ता गर्ने, र ऋणको अवधि लम्ब्याउन पहल गर्ने योजना उनले प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न मकवानपुरका विशेष उत्पादनलाई अन्तर्राष्ट्रिय मेलामा सहभागी गराउने र स्थायी प्रदर्शनी केन्द्र स्थापना गर्ने लक्ष्य पनि घोषणापत्रमा समावेश छ।
अग्रवालले भीमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माण गर्न पहल गर्ने, इन्द्रसरोवरलाई नैनीतालको रूपमा विकास गर्ने, र मकवानपुरको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग र पूर्वाधार विकासमा पनि उनले विशेष ध्यान दिएका छन्। औद्योगिक क्षेत्र र अटो ल्यान्ड स्थापनाका लागि पहल गर्ने र विकास निर्माणका काम समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय गर्ने उनको योजना छ।
सञ्चार क्षेत्रको विकासका लागि व्यवसायिक संस्थाहरूसँग सहकार्य गर्ने, व्यवसायीहरूका लागि एकीकृत सेवा केन्द्र स्थापना गर्ने, र व्यवसायिक प्रशिक्षण तथा परामर्श प्रदान गर्ने योजना पनि प्रस्तुत गरिएको छ। अग्रवालले मकवानपुरका व्यवसायीहरूको हकहितका लागि संघको भूमिका सशक्त बनाउने र संघलाई समसामयिक आवश्यकताअनुसार संस्थागत रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।
अग्रवालको टिम
अनिल अग्रवालको नेतृत्वको प्यानलमा महासचिवका रूपमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षका रूपमा तेजराज अधिकारी, र सह-कोषाध्यक्षका रूपमा राधिका सामरी पाण्डे रहेका छन्। वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली, र सदस्यहरूमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई, तथा महिला आरक्षणतर्फ निलम पाण्डे रहेका छन्।
एशोसियटतर्फ विष्णु खनाल उपाध्यक्षका रूपमा उम्मेदवार बनेका छन्। उद्योगतर्फ उपाध्यक्षका रूपमा रवीन्द्र प्रसाद घिमिरे, सदस्यहरूमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, र महिला आरक्षणतर्फ मेनका श्रेष्ठ छन्। वस्तुगततर्फ काव्यमणि अधिकारी उपाध्यक्ष, नेत्रप्रसाद खतिवडा सचिव, र शम्भु पुडासैनी सदस्य रहेका छन्।
अग्रवाल नेतृत्वको टिमको घोषणासँगै चर्चित गायक बद्री पंगेनीले सांगीतिक प्रस्तुति दिएर कार्यक्रममा रौनक थपेका थिए। कार्यक्रममा संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, भगिरथी शर्मा, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन तथा संघमा आबद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
यसअघि हिजो अध्यक्ष पदका अर्का प्रत्यासी प्रमोद सिंह रानाभाटले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेका थिए। रानाभाटले साना व्यवसायीको सहुलियत कर्जा, कर प्रणालीमा सुधार, र व्यवसायिक वातावरण सहज बनाउन विशेष जोड दिएका थिए। यसपटकको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले व्यवसायीहरूको आकांक्षा पूरा गर्ने योजना प्रस्तुत गर्दै दुई प्रमुख प्यानलबीचको प्रतिस्पर्धालाई रोमाञ्चक बनाएको छ।