हेटौंडा | हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेका दुई नगर अस्पतालका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनशक्ति व्यवस्थापन तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने भएको छ।
नगरका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले उपमहानगरपालिकाले हेटौंडा–१३ र १६ मा सञ्चालन गरिरहेका नगर अस्पतालहरूको सञ्चालनमा प्रतिष्ठानका जनशक्ति परिचालन गरिनेछ। सोमबार उपमहानगरपालिका र प्रतिष्ठानका पदाधिकारीबीच भएको छलफलले नगर अस्पताल र हेटौंडा अस्पतालको व्यवस्थापन र सञ्चालनमा सहकार्य गर्ने सहमति गरेको हो।
सहमतिअनुसार प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा भिडियो एक्सरे, सिटी स्क्यान, र एमआरआई सेवाहरू २४ सै घण्टा सञ्चालन गर्न आवश्यक सहयोग उपमहानगरपालिकाले उपलब्ध गराउनेछ। दुई संस्थाबीचको सहकार्यले नगरका स्वास्थ्य सेवामा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरिएको छ।
स्थानीयस्तरमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न यो सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छलफलको क्रममा बताइएको थियो। प्रारम्भिक छलफलपछि सहकार्यलाई औपचारिक बनाउँदै दुई पक्षीय सम्झौता गरिने सहमति भएको छ।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा सम्पन्न छलफलमा प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, रजिस्ट्रार भीमसागर गुरागाईं, डिन दुर्गाकुमारी खड्का मिश्र, उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद घिताल, प्रतिष्ठानका प्राध्यापक डा. दिनेशकुमार लम्साल, उपनिर्देशक भीमप्रसाद तिमल्सिना, आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, प्रतिष्ठानका प्रशासकीय अधिकृत विशाल लामिछाने, र उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनालीलगायतको उपस्थिति रहेको थियो।
यस सहकार्यले नगरस्तरमा स्वास्थ्य सेवा थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।