Thursday, January 23, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौंडा उपमहानगरको अढाई वर्षे समीक्षाबाट दश बुँदे घोषणा

हेटौंडा उपमहानगरको अढाई वर्षे समीक्षाबाट दश बुँदे घोषणा

हेटौंडा  | हेटौंडा उपमहानगरपालिकाले अढाई वर्षे कार्यकालको समीक्षा गर्दै दश बुँदे घोषणा पत्र जारी गरेको छ। नगरका जनप्रतिनिधिहरूको सहभागितामा दुई दिनसम्म सौराहामा सम्पन्न छलफलले विगतका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनका प्राथमिकताहरू तय गरेको हो।

छलफलमा गएका आर्थिक वर्षहरूको प्रगति विवरण, चालु आर्थिक वर्षका कार्यहरू, र आगामी आर्थिक वर्षको कार्यादेशका विषयमा व्यापक छलफल गरिएको थियो।

छलफलका क्रममा प्रदेश सरकारसँग लागत सहभागितामा निर्माणाधीन हेटौंडा–११, थानाभर्याङस्थित फलफूल तथा तरकारी थोक बजारमा मन्त्रालय स्थापना गरिनुले त्यस संरचनाको मूल उद्देश्यलाई प्रभावित पारेको भन्दै तत्काल निर्माण सम्पन्न गरी थोक बजारका रूपमा सञ्चालन गर्नुपर्ने निश्कर्ष निकालिएको छ। त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार खण्डको सडक विस्तार, विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने, र भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई समायोजन गरी ठूलो विद्यालयका रूपमा विकास गर्ने निर्णय गरिएको छ।

छलफलले अति विपन्न थामी र चेपाङ समुदायका परिवारहरूका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने, गुणस्तरीय पूर्वाधार निर्माणको प्राथमिकता दिने, र हेटौंडा उपमहानगरभित्रका प्रमुख विद्युतीय लाइनलाई भूमिगत गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारका योजना कार्यान्वयनमा एकद्वार प्रणाली अभावले देखिएका समस्याबारे जनप्रतिनिधिहरूले चासो व्यक्त गरेका थिए।

नगरका उपलब्धिहरू र योजनाबारे प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रस्तुत गरे। छलफलको निष्कर्ष अनुसार महिलामैत्री सहर निर्माण, राजमार्गको २५ मिटर विस्तार, र स्थानीय कृषकहरूको उत्पादन बजारीकरणका लागि थोक बजार सञ्चालन गर्ने विषयहरू पनि प्राथमिकतामा राखिएका छन्।

नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा र उपप्रमुख राजेश बानियाँको आतिथ्यतामा सम्पन्न छलफलबाट दश बुँदे घोषणा पत्र जारी गर्दै नगरका भावी योजनालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img