हेटौँडा | बागमती नदीमाथिको सिक्रे दोभान पुल आठ वर्षदेखि अधुरै छ। पुल नबन्दा बाढी आएपछि गाउँ टापु बन्छ, बिरामीलाई स्ट्रेचरमा बोकेर डाँडाकाँडा कटाइन्छ, बालबालिकाले खोला तरेर विद्यालय जान्छन्। वाचा धेरै सुनियो, ठेक्का सम्झौता पनि भयो, तर पुल अहिलेसम्म पूरा भएन।
काभ्रेपलाञ्चोक र मकवानपुरका दुर्गम गाउँहरूलाई सडक सञ्जालसँग जोड्ने एक मात्र सहज मार्ग झुझुरे-भोर्लेनी, तालढुंगा र देवीटार सडक हो। यही सडकले बीपी लोकमार्गसँग जोड्नेछ, जसले व्यापार र आवागमनलाई सहज बनाउनेछ। तर, जबसम्म बागमती नदीमा पुल बन्दैन, यी सपना अधुरा नै रहनेछन्।
खानीखोला, महाभारत र बागमती गाउँपालिकाका स्थानीयका लागि पुल जीवन र मरणको प्रश्न बनेको छ। वर्षायाम लागेपछि बागमती नदीको बहाव बढ्दा पुल नहुँदा सम्पर्क टुट्छ। एम्बुलेन्स चल्दैन, दैनिक उपभोग्य सामान ढुवानी गर्न सकिन्न, बिरामीको उपचार गम्भीर समस्या बन्दछ।
आठ वर्षअघि निर्माणको योजना बनेको थियो। ठेक्का सम्झौता पनि भइसकेको थियो। मकवानपुरको जिल्ला विकास समितिबाट पुलको ठेक्का दिइएको थियो। पूर्वाधार विकास कार्यालय चितवन र महाविर/शिखर/तामाकोशी जेभीबीच २०७३/७४ मा ठेक्का सम्झौता भए पनि पुल अलपत्र छ।
तीन गाउँपालिकाका अध्यक्षहरू कान्छालाल जिम्बा (महाभारत), सर्वेश घलान (बागमती) र इन्द्रबहादुर थिङ (खानीखोला) मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै पुल निर्माणको माग गर्दै पुगे। तर, स्थानीयहरू भन्छन् – ‘नयाँ आश्वासन पायौँ, अब काम चाहिँ कहिले?’
गत असोज ११ र १२ गते आएको बाढीले रोशी र महाभारत जोड्ने एक मात्र थान्सिङबेसी पुल बगाएको थियो। जनमुक्ति मार्गको हात्तिसार-सिक्रे दोभान खण्ड पनि ध्वस्त बन्यो। तिनखुट्टे-देवीटार सडकखण्ड २०७७ सालमै ठेक्का सम्झौता भएर पनि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। खानी खोला र पार्वती खोला पुलको अवस्था पनि उस्तै छ।
स्थानीयहरू मुख्यमन्त्रीको प्रतिबद्धता सुनेर सन्तुष्ट छैनन्। ‘अब धैर्य सकियो, काम नगरे आन्दोलन गर्छौँ’, एक स्थानीयले भने।
यो केवल पुलको कुरा मात्र होइन, यो दुर्गम भेगका हजारौँ नागरिकको जीवनसँग जोडिएको विषय हो। प्रदेश सरकारको प्राथमिकतामा नपरेर वर्षौँदेखि थन्किएको यो पुल स्थानीयका लागि अझै ‘आश्वासनको पुल’ मात्र बनिरहेको छ। अब प्रश्न उठ्छ— पुल कहिले बनिन्छ? नत्र स्थानीयवासी आन्दोलन गर्न बाध्य हुनेछन्।