हेटौँडा | दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता बिहीबारदेखि हुप्राचौर खेलमैदानमा सुरु भएको छ। हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्दै “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आयोजित यस प्रतियोगिताले पूर्व खेलाडीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस्ता प्रतियोगिताले युवा खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने उल्लेख गर्दै, बिहान र बेलुका खेलमा संलग्न हुन सके स्वास्थ्य लाभसमेत हुने धारणा राखिन्।
उद्घाटन कार्यक्रममा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू, बागमती प्रदेश फुटबल सङ्घका महासचिव लवराज ठकुरी, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रतियोगिता संयोजक मणिराज गौतमका अनुसार आगामी फागुन २२ देखि २६ गतेसम्म चल्ने यस प्रतियोगितामा १५ टोलीले सहभागिता जनाएका छन्। पहिलो दिन भएको खेलमा बानेश्वर फ्रेण्डसिप भेट्रान्स र बौद्ध भेट्रान्स विजयी भएका छन्। बानेश्वर भेट्रान्सले वीरगञ्ज सिटी भेट्रान्सलाई १-० गोल अन्तरले पराजित गर्यो। खेलको अन्तिम समयमा हरिहर थापाले निर्णायक गोल गरेका थिए। उनी म्यान अफ द म्याच घोषित भए। यस्तै, बौद्ध भेट्रान्सले वीरगञ्ज यूथलाई २-० गोल अन्तरले हरायो। बौद्धका उमन मोक्तान र राजु कोइरालाले गोल गरे। कोइराला खेलको म्यान अफ द म्याच बने। एबिसी भेट्रान्स पोखरा र भुटनदेवी भेट्रान्सबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा टुंगियो। यी दुई टिमबीचको टाइब्रेकर खेल शुक्रबार बिहान १० बजे हुने आयोजकले जनाएको छ।
शुक्रबार हुने खेलहरूमा पहिलो खेल दिउँसो १ बजे फ्रिडम फाइटर र चितवन भेट्रान्सबीच हुनेछ। दोस्रो खेल दिउँसो २ बजे सिमरा भेट्रान्स र नागस्वती भेट्रान्सबीच हुनेछ भने तेस्रो खेल दिउँसो ३ बजे बगर भाईखलक पोखरा र एन.जे.जे.भिसी सिमरा भिड्ने छन्। चौथो खेल अपराह्न ४ बजे किङकम भेट्रान्स र बुटवल भेट्रान्सबीच हुनेछ।
प्रतियोगिताका मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका तथा सह-प्रायोजक हेटौँडा स्कुल अफ म्यानेजमेन्ट रहेका छन्। क्लबका अध्यक्ष रमेश उप्रेतीका अनुसार विभिन्न संघ-संस्था, समाजसेवी तथा फुटबल प्रेमीहरूको साथ सहयोग रहेको छ। प्रतियोगिताका विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई विशेष विधागत पुरस्कार प्रदान गरिनेछ। सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार रुपैयाँ र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।