हेटौँडा | होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको “जाउँ है पोखरा” अभियानको २०८१ संस्करण हेटौँडामा समापन भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान पूर्वी नेपालका विभिन्न सहर हुँदै हेटौँडामा आएर सम्पन्न भएको हो।
गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा फागुन १८ गतेदेखि सुरु भएको अभियान जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास हुँदै हेटौँडा आएको थियो। अभियानको मुख्य उद्देश्य पोखरामा आन्तरिक पर्यटकको संख्या वृद्धि गर्नुका साथै पोखराबाट पूर्वी नेपालतर्फ पनि पर्यटन प्रवाह बढाउनु रहेको होटल संघ पोखराले जनाएको छ।
२०८० चैत ४ गते पोखरालाई “नेपालको पर्यटन राजधानी” घोषणा गरिएको तथा नेपाल भ्रमण वर्ष २०२५ को प्रवर्द्धन सुरु भएको सन्दर्भमा “जाउँ है पोखरा” अभियानले पर्यटन प्रवर्द्धनमा थप योगदान दिने अपेक्षा गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि पूर्वी नेपालका विभिन्न सहरहरूबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले औंल्याए।
उनका अनुसार पोखरामा हाल १२ सय होटल सञ्चालनमा छन्, जसमा ४० हजार बेड उपलब्ध छन्। यस क्षेत्रले करिब १५ हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले “फेवा नववर्ष महोत्सव,” “भाइटिका महोत्सव,” “खाल महोत्सव,” तथा खेलकुद कार्यक्रमहरू गर्दै आएको छ भने बाह्य पर्यटन प्रवर्द्धनका लागि भारतीय सहरहरूमा “चलो पोखरा” अभियान सञ्चालन भइरहेको छ।
संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले संघले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा ताल किनारमा “२०औं फेवा नववर्ष महोत्सव २०८२” आयोजना गर्न लागेको छ।
हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के प्रमुख अतिथि रहेका थिए भने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सभाध्यक्षता गरेका थिए। मकवानपुर होटल एसोसिएसनले कार्यक्रमलाई आतिथ्य प्रदान गरेको थियो।
मन्त्री मास्केले नेपालको पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्र (GDP) मा प्रत्यक्ष योगदान गर्ने प्रमुख क्षेत्रहरूमध्ये एक रहेको उल्लेख गर्दै होटल तथा आतिथ्य उद्योगको भूमिकालाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पोखरालाई मात्र नभई नेपालभर पर्यटनलाई प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधार निर्माणमा सरकारले ध्यान दिइरहेको बताए।