हेटौँडा | ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित महिला कर्मचारीबीचको निबन्ध प्रतियोगितामा बागमती प्रदेश सभा सचिवालयकी अधिकृतस्तर सातौं हिमा न्यौपाने प्रथम स्थान हासिल गरेकी छिन्।
‘सार्वजनिक सेवामा महिला सहभागिता: अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक निबन्ध प्रतियोगितामा प्रथम भएकी न्यौपानेलाई शुक्रबार आयोजित कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्की श्रेष्ठ र मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले नगद १० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरेका थिए।
यसै प्रतियोगितामा बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी लेखा अधिकृत सरस्वती पौडेल द्वितीय स्थान प्राप्त गर्दै नगद ७ हजार रुपैयाँ तथा सम्मानपत्र प्राप्त गरिन् भने बागमती प्रदेश लेखा नियन्त्रक कार्यालयकी लेखा अधिकृत सुस्मा पुडासैनी तृतीय स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाँसहित सम्मानित भइन्।
बागमती प्रदेश सरकार अन्तर्गत कार्यरत महिला कर्मचारीहरूको सृजनात्मक प्रतिभालाई प्रोत्साहित गर्न आयोजना गरिएको प्रतियोगितामा १२ जना महिला कर्मचारीहरूले सहभागिता जनाएका थिए। फागुन २१ गते आयोजित निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट तीन जनालाई विशेष सम्मान प्रदान गरिएको थियो।



