हेटौँडा | बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन्। चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गर्ने तयारीसँगै उनीहरूले अस्पतालको सेवा, पूर्वाधार र शैक्षिक कार्यक्रमको स्थिति अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री थापाले प्रतिष्ठानद्वारा सञ्चालित बीएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बीफार्मा कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा एमबीबीएस कार्यक्रम सुरु गर्न आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिए। प्रतिष्ठानले हाल २० सिटमा सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमलाई आगामी सत्रदेखि ४० सिट पुर्याउने तयारी गरिरहेको छ।
निरीक्षण कार्यक्रममा उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साल, रजिष्ट्रार भीमसागर गुरागाईं, निर्देशक डा. रामचन्द्र सापकोटा, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, लक्ष्मी पौडेल, पूर्व सदस्य हिरा लामा लगायतका चिकित्सक तथा कर्मचारी सहभागी थिए।
मन्त्री थापाले चिकित्सा शिक्षा आयोगका मापदण्ड अनुसार सबै भौतिक तथा शैक्षिक पूर्वाधारलाई पूरा गर्दै एमबीबीएस कार्यक्रम अघि बढाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
प्रदेश सभा सदस्य श्रेष्ठले अस्पतालले देखाएको समग्र सुधारात्मक प्रयासलाई सराहना गर्दै जनताबाट आउने गुनासोलाई सुधारको अवसरका रूपमा लिन आग्रह गरे।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि आवश्यक संरचना तयार भइसकेको जानकारी दिँदै अब आयोगको स्वीकृतिको मात्र प्रतीक्षा रहेको बताए।



