नुवाकोट । त्रिशूली–तादी गाउँपालिका–२ चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भल बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ। खोलाले बगाउँदा अन्य तीन विद्यार्थी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजेतिर खोलाको कल्भर्ट पार गर्ने क्रममा दुर्घटना भएको हो। बालकक्षामा अध्ययनरत रामबहादुर तामाङकी चार वर्षीया छोरी शशिकला तामाङलाई बाढीले बगाउँदा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
तादी–२ का अध्यक्ष बच्चुराम तामाङका अनुसार शशिकलालाई खोलाले करिब १०० मिटर तल पुर्याएको थियो। उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई बालिका जोयस तामाङ, ज्योति तामाङ र एक बालक सुस्मा तामाङ घाइते भएका छन्।
घाइते तीनै जनाको खरानीटार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



