देशबागमती प्रदेशनर्सहरूको असन्तुष्टि : सेवा तिनकै काँधमा, सुविधा भने अरूको हातमा

नर्सहरूको असन्तुष्टि : सेवा तिनकै काँधमा, सुविधा भने अरूको हातमा

हेटौँडा | मकवानपुरका स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबारदेखि दुई घण्टा सेवा स्थगित गर्दै ‘मौन विरोध’ सुरु गरेका छन्। बुधबारदेखि बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यकबाहेकका सबै नर्सिङ सेवा बन्द गर्ने भएका हुन्।

नेपाल नर्सिङ संघको देशव्यापी आह्वानअनुसार सुरु भएको आन्दोलनको प्रभाव हेटौँडा अस्पतालदेखि स्थानीय स्वास्थ्यचौकीसम्म देखिएको छ। “हामीले माग गरेका कुरा नयाँ होइनन्, वर्षौंदेखि सुन्दासुन्दै थाकिसकेका माग हुन्,” नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले भनिन्, “अब सरकारले निर्णयात्मक प्रतिक्रिया दिनुपर्छ।”

संघले गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म नर्सहरूले कालोपट्टी बाँधेर सेवा दिँदै असन्तुष्टि जनाएका थिए। तर सरकारको मौनतापछि आन्दोलन दोस्रो चरणमा पुगेको हो। “हामीले १८ गतेसम्म हरेक दिन दुई घण्टा सेवा रोकिन्छौं,” दाहालले बताइन्, “त्यसबितर पनि सुनुवाइ भएन भने, आन्दोलन थप कडा हुनेछ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक २ गते नर्सहरूको १५ बुँदे माग सम्बोधनका लागि कार्यदल बनाएको थियो। तर नर्सहरूको भनाइमा, त्यस कार्यदलको प्रतिवेदन अझै कार्यान्वयनको प्रतीक्षामा छ। दाहालका अनुसार, “कार्यदल बनेको सुनेका छौं, तर त्यसले हाम्रो जीवनमा के परिवर्तन ल्यायो? अहिलेसम्म केही पनि होइन।”

नर्सहरूले प्रमुख मागका रूपमा निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक सरकारी मापदण्डअनुसार हुनुपर्ने, रात्रीकालीन, सार्वजनिक बिदा वा चाडपर्वका दिन ड्युटी गर्दा जोखिम भत्ता दिने व्यवस्था गर्नुपर्ने, र योग्यता तथा अनुभवका आधारमा बढुवा, ग्रेड र औद्योगिक नर्सको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

हेटौँडा अस्पतालकी एक नर्सले भनिन्, “हामीलाई स्वास्थ्य प्रणालीको मेरुदण्ड भनिन्छ, तर व्यवहार श्रमिकजस्तो हुन्छ। जोखिम, तनाव र जिम्मेवारी सबै हामीमाथि छ, तर सुविधा भने अरूले पाउँछन्।”

नर्सहरूको आन्दोलन केवल पारिश्रमिकका लागि होइन, पेशाको सम्मानका लागि पनि हो। संघले १८ गतेसम्म आन्दोलन निरन्तर राख्ने र त्यसपछि अवस्था हेरेर अर्को चरणको कार्यक्रम तय गर्ने जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img