हेटौँडा | हेटौँडा बजार क्षेत्रको वर्षौँदेखि रोकिँदै आएको सडक विस्तार अभियान मंसिर २० गतेबाट रूपमा सुरु हुने भएको छ। विस्तारका लागि अतिक्रमित स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारदेखि सडक डिभिजन कार्यालय हेटौँडाले रेखाङ्कन र रंग लगाउने काम थालेको हो।
कार्यालयले हेटौँडा–१५ रातोमाटेबाट मार्किङ कार्य सुरु गरेको छ। डिभिजनले मंसिर ५ गते १५ दिने सूचना सार्वजनिक गरेको थियो, जसको अवधि मंसिर १९ मा सकिँदैछ। सो अवधिमा संरचना स्वयं नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरिने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार चारवटा बिन्दुबाट एकैसाथ डोजर चलाइनेछ। “१९ गतेसम्म पनि अतिक्रमित संरचना आफैं नभत्काए २० गतेबाट अनिवार्य रूपमा डोजर चल्छ,” उनले भने।
सडक विस्तारका कारण बजार क्षेत्रको मुख्य सडकमा सवारीसाधन आवत–जावत रोकिने र विभिन्न बाइपास मार्ग प्रयोग गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
सडक विस्तार प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ। बुधबार बसेको सरोकारवाला निकायहरूको बैठकले सडक डिभिजन मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो।
समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन डिभिजन, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधि छन्। टास्क फोर्सको कार्यालय सडक डिभिजनमै रहनेछ।
टास्क फोर्सले बुधबारदेखि नै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सडक विस्तारका क्रममा विद्युत, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर निरन्तर समन्वय भइरहेको छ।
प्रजिअ अधिकारीले हेटौँडालाई प्रदेश राजधानीका रूपमा व्यवस्थित, सुन्दर र सुरक्षित शहरका रूपमा विकास गर्न सडक विस्तार अपरिहार्य रहेको बताए। उनका अनुसार एशियाली विकास बैंक (एडीबी) बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले विस्तार योजना अब कुनै हालतमा रोकिँदैन।
“घरधनीहरूले स्वयं संरचना हटाइदिनुभयो भने काम झनै सहज हुन्छ। सबै पक्षलाई जीतको अनुभूति हुने गरी काम अघि बढाइन्छ,” उनले भने।
सडक डिभिजनले जारी गरेको सूचनाअनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ खण्डमा मध्यरेखादेखि दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रमा पर्ने सबै स्थायी–अस्थायी संरचना १५ दिनभित्र हटाउन आग्रह गरिएको छ।
सूचना अवधि सकिएपछि भने अतिक्रमित संरचना बलपूर्वक हटाइने डिभिजनले स्पष्ट पारेको छ।



