मकवानपुरबागमती गाउँपालिकाबागमतीमा खारेत रोग विरुद्धको खोप अभियान सुरु, १० हजार पशुमा खोप लगाउने...

बागमतीमा खारेत रोग विरुद्धको खोप अभियान सुरु, १० हजार पशुमा खोप लगाउने लक्ष्य

हेटौँडा | बागमती गाउँपालिकामा खारेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियान अन्तर्गत हालसम्म ३ हजार ५ सय ९० वटा पशुचौपायामा खोप लगाइएको छ।

बागमती गाउँपालिकाको पशुपंक्षी विकास शाखाको व्यवस्थापनमा विभिन्न वडाहरूमा चरणबद्ध रूपमा खारेत खोप अभियान सञ्चालन भइरहेको छ। अभियानको नेतृत्व गरिरहेका पशु चिकित्सक डा. विमल सिलवालका अनुसार, गाउँपालिकाभित्रका सबै वडाहरूमा खोप पुगिसकेको छ र खोप लगाउने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

शाखाका प्राविधिक राजेन्द्र गोलेले दिएको विवरणअनुसार, बैशाख ३० गते मंगलबारसम्म बागमती गाउँपालिकाका विभिन्न वडाहरूमा जम्मा ३ हजार ५ सय ९० पशुचौपायामा खारेत खोप लगाइएको छ। तीमध्ये वडा नम्बर ९ मा सबैभन्दा धेरै १ हजार ३ सय ५० पशुमा खोप लगाइएको छ भने वडा नम्बर ५ मा ४ सय, वडा नम्बर ६ मा २ सय ५० र वडा नम्बर ७ मा १ सय ४ पशुमा खोप लगाइएको हो। बाँकी वडाहरूमा पनि खोप अभियान सञ्चालन गर्न तयारी पूरा भइसकेको गोलेले जानकारी दिए।

यो पटकको खोप अभियानमा कुल १० हजार पशुचौपायामा खोप लगाउने लक्ष्य रहेको प्राविधिक गोलेले जानकारी दिए। उनका अनुसार, पालिकाभित्र रहेका गाउँभैँसी, गाई, बाख्रा जस्ता जनावरहरूलाई खारेत रोगबाट जोगाउन यो खोप अनिवार्य छ।

खारेत रोग पशुमा देखिने एक संक्रामक रोग हो, जसले छालामा गाँठा, ज्वरो, दुग्ध उत्पादनमा गिरावट, तथा कहिलेकाहीँ जनावरको मृत्युसम्म गराउन सक्छ। समयमै खोप नलगाइँदा रोग फैलिन सक्ने जोखिम उच्च रहने भएकाले पालिकाले यस अभियानलाई प्राथमिकतामा राखेको छ।

डा. सिलवालले स्थानीय कृषकहरूलाई आ–आफ्ना पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाइदिनुहुन अनुरोध गरेका छन्। उनले भने, “यो खोपले जनावरलाई रोगबाट सुरक्षा दिने भएकाले सबै किसानले समयमै खोप लगाउनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img