हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार सम्पन्न ‘लागू औषध नियन्त्रण तथा नागरिक सुनुवाइ’ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जिल्लाका यूवाहरु व्यापक रूपमा लागूपदार्थ दुव्र्यसनमा फसिरहेको गम्भीर चिन्ता व्यक्त गरे।
गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा अध्यक्ष मुक्तानले मकवानपुरका अधिकांश यूवाहरु लागूपदार्थतर्फ आकर्षित हुँदै गएको उल्लेख गरे। “यूवाहरुको भविष्य अध्यारो देखिन्छ,” उनले भने, “रिकभरी सेन्टर र प्रहरीका तथ्यांक हेर्दा लागू पदार्थको सेवन र कारोबारमा युवाको सहभागिता डरलाग्दो देखिन्छ।”
उनले कैलाश र राक्सिराङ क्षेत्रलाई कच्चा पदार्थ उत्पादन हुने क्षेत्रको रूपमा चिनाउँदै भारत हुँदै पुनः महँगो मूल्यमा ती पदार्थ नेपाल भित्रिने अवस्था रहेको उल्लेख गरे। “हामी चेतना फैलाउने प्रयासमा छौं, तर सुरक्षा निकायले बीउमै नष्ट गर्ने रणनीति लिनुपर्छ,” मुक्तानले जोड दिए। साथै, दुव्र्यसनविरुद्धको संघर्षलाई स्थानीय नीति र योजना मार्फत संस्थागत गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले गाजाँ तथा अफिमको अवैध खेती, उत्पादन, कारोबार र सेवनप्रति कडा निगरानी आवश्यक भएको बताइन्। “कैलाश र राक्सिराङलाई गाजाँ र अफिमको पर्याय बनेको स्थिति अन्त्य गर्न जनप्रतिनिधिको भूमिका निर्णायक हुन्छ,” उनले भनिन्। “गाउँको मुहार जनप्रतिनिधिले नै फेर्न सक्छन्,” भन्दै श्रेष्ठले गाउँगाउँमा चेतनामूलक संवाद आवश्यक भएको बताइन्।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्काले लागूपदार्थ दुव्र्यसनका चरण, असर र कानुनी प्रावधानबारे प्रस्तुति दिए। उनले अफिमजन्य ब्राउन सुगर प्रयोगमा मकवानपुरको अग्रस्थान रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा ४३१७ किलो गाजाँ र २० किलो अफिम बरामद भएको जानकारी दिए। “समस्या चुनौतीपूर्ण भए पनि हामी रोकथाममा प्रतिबद्ध छौं,” उनले भने।
त्यसैगरी, मकवानपुर रिकभरी समूहका अनिल लामाले किशोरावस्थामा लागूपदार्थप्रति आकर्षण र दुव्र्यसनको चक्रबारे आफ्नो अनुभव प्रस्तुत गरे।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति थियो। अन्तक्रियामा नागरिकता र राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित जिज्ञासाहरु पनि उठेका थिए, जसको सम्बोधन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गरेकी थिइन्।



