मकवानपुरबकैया गाउँपालिकाबकैयामा सिँचाइ योजनाको उद्घाटन

बकैयामा सिँचाइ योजनाको उद्घाटन

बकैया | मकवानपुरको बकैया गाउँपालिकामा भूमिगत बोरिङ सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले अब कृषि र पशुपालनमा आत्मनिर्भरता हासिल हुने आशा व्यक्त गरेका छन्।

बकैया–७ स्थित हर्दा खहरे टोलमा निर्माण भएको उक्त योजनाले पहिले सुक्खा रहेको जमिनमा जीवन भर्ने काम गरेको स्थानीयको प्रतिक्रिया छ। तीन लाख स्थानीय लगानीसहित ३६ लाखभन्दा बढी लागतमा सम्पन्न योजनाको उद्घाटन नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय र बागमती प्रदेशका सिँचाइ मन्त्री श्यामबहादुर खड्काले संयुक्त रूपमा गरे।

“पहिला विकासको कामका लागि सिंहदरबार धाउनुपर्ने अवस्था थियो,” उपाध्यायले भनिन्, “संघीयतापछि यस्तो अवस्था अन्त्य भयो, स्थानीय तहमै समाधान सम्भव छ।” उनले अब सिँचाइ पुगेसँगै नगदेबाली र पशुपालन सहज हुने बताउँदै जैविक मलमा आधारित उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।

मन्त्री खड्काले सिँचाइ सुविधा नहुँदा कृषि उपजमा देश परनिर्भर भएको भन्दै, “सिँचाइ, मल र बीउको सुनिश्चितता भयो भने कृषि रोजगारी र आत्मनिर्भरताको आधार बन्न सक्छ,” भने।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले सिँचाइसँगै कृषि उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा व्यक्त गरे। “हामी कृषि र पशुपालनलाई केन्द्रमा राखेर योजना बनाउँदैछौं,” उनले भने।

यस योजनाबाट हाल १० बिगाहा जमिनमा सिँचाइ सुविधा उपलब्ध भइसकेको छ भने थप ५ बिगाहामा विस्तार हुने तयारी छ। सिँचाइ आएपछि अब यहाँका युवाहरू वैदेशिक रोजगारीको विकल्प खोज्दै आफ्नै माटोमा उत्पादन र आयआर्जनमा जुट्ने अपेक्षा गरिएको छ।

स्थानीय नेताहरूले सिँचाइ जडानलाई सुरुआतको पाइला भन्दै अब बजार, भण्डारण र तालिमको व्यवस्था आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img