हेटौँडा | हेटौँडामा एकजना ७१ वर्षीय बृद्धा मृत भेटिएपछि प्रहरीले उनको नातीलाई नियन्त्रणमा लिएको छ। सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भैरवडाँडामा ७१ वर्षीय ठूलीमाया विश्वकर्मा आफ्नै घरमा मृत फेला परेकी थिइन्।
घरमा हजुरआमा र नाती मात्रै बस्दै आएको र हजुरआमाको मृत्यु शंकास्पद रहेकाले २८ वर्षीय नाती प्रवीण विश्वकर्मालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार ठूलीमाया सोमबार बिहान घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन्। उनको दुवै कानबाट रगत बगेको पाइएकोले उनको मृत्यु शंकास्पद रहेको प्रहरीको अनुमान छ।
हजुरआमाको मृत्युमा नातीको संलग्नता हुनसक्ने भएकाले नाती प्रवीणलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मृतक ठूलीमायाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता भण्डारीले बताए।