हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा शुक्रबार चार रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हुप्राचौर खेलमैदानमा जारी प्रतियोगितामा ४५ वर्षभन्दा माथिका खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन्।
शुक्रबारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेलले चितवन भेट्रान्सलाई २-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गर्यो। खेलको दोस्रो हाफमा राजकुमार केसीले ४२औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने ४९औं मिनेटमा कृष्ण मालाकारले गोल थप्दै जित पक्का गरे। म्यान अफ द म्याच फ्रिडम फाइटरका राजकुमार केसी घोषित भए।
दोस्रो खेलमा नागस्वती भेट्रान्सले सिमरा भेट्रान्सलाई ३-० ले पराजित गर्यो। नागस्वतीका निमा लामाले खेलको ६औं र १९औं मिनेटमा दुई गोल गरेका थिए भने प्रकाश राना मगरले १०औं मिनेटमा अर्को गोल थपे। म्यान अफ द म्याच निमा लामा घोषित भए।
तेस्रो खेलमा बगर भाईखलक पोखराले एनजेजे भिसी भेट्रान्सलाई ट्राईब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गर्यो। निर्धारित समयसम्म खेल १-१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो। बगरभाईको हिमाल थापा म्यान अफ द म्याच घोषित भए।
चौथो खेलमा किङकम भेट्रान्स काठमाडौँले बुटवल भेट्रान्सको अनुपस्थितिका कारण वाकओभर पाउँदै क्वाटरफाइनलमा स्थान बनायो।
शनिबार क्वाटरफाइनलका चार खेलहरू हुनेछन्। पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबिसी भेट्रान्सबीच हुनेछ। दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्सबीच दिउँसो २ बजे खेलिनेछ। तेस्रो क्वाटरफाइनल फ्रिडम फाइटर र नागस्वती भेट्रान्सबीच ३ बजे हुनेछ भने अन्तिम क्वाटरफाइनल आयोजक हेटौँडा भेट्रान्स र बौद्ध भेट्रान्सबीच हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह-प्रायोजक हेटौँडा स्कुल अफ म्यानेजमेन्ट हो। विजेताले १,५०,५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ७५,५५५ रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट कोच, फरवार्ड, गोलकिपर, डिफेन्स, र मिडफिल्डरलाई जनही ५,००० रुपैयाँ पुरस्कार दिइनेछ भने म्यान अफ द सिरिज खेलाडीलाई १०,००० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।