हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१७ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वडा कार्यालयले पुरस्कार घोषणा गरेको छ। आगामी एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष उद्धव सत्यालले बताएका छन्।
बुधबार बालबोध माध्यमिक विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा मेहनती विद्यार्थीलाई प्रेरित गर्न र उत्कृष्ट नतिजा ल्याउनेहरूलाई सम्मान गर्ने घोषणा गरेको बताउँदै उनले भने, “हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई अझ बढी मेहनती बनाउन प्रोत्साहित गर्नु हो। कुनै पनि सामुदायिक विद्यालयमा अध्ययनरत वडाभित्रका विद्यार्थीले ‘ए’ प्लस ल्याएमा वडा कार्यालयबाट २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।”
उनले थपे, “हामी कुनै विद्यालयविशेषलाई मात्र होइन, वडाका सबै विद्यार्थीलाई उत्तिकै सम्मान र अवसर दिन चाहन्छौँ। यस योजनाले सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समान रूपमा प्रतिस्पर्धी र मेहनती बन्न उत्प्रेरित गर्नेछ।”
उनले विद्यार्थीहरूलाई पढाइमा अझै केन्द्रित हुन अनुरोध गर्दै भने, “सफलता मेहनतबाट मात्र सम्भव छ। हाम्रो यो पुरस्कार योजना विद्यार्थीलाई अझ बढी अध्ययनशील बनाउन प्रेरणादायी हुनेछ।”
यस वर्ष हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यमिक विद्यालयबाट गरी ५४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।
केही शिक्षकहरूले भने, “वडाको यस्तो घोषणा विद्यार्थीहरूका लागि थप हौसला बन्न सक्छ। यसले उनीहरूलाई प्रतिस्पर्धात्मक बनाउँछ र राम्रो अध्ययन गर्ने बानी बसाल्न मद्दत गर्छ।”
वडाध्यक्ष सत्यालले भने, “यदि हामी हाम्रा विद्यार्थीहरूलाई राम्रो अवसर दिन सक्यौँ भने उनीहरूको भविष्य उज्ज्वल हुनेछ। हामी शिक्षामा लगानी बढाएर हाम्रो वडालाई शैक्षिकरूपमा उत्कृष्ट बनाउन चाहन्छौँ।”