सुनसरी | प्रदेश १ को इलाम र पाँचथरमा स्कारपिओ र ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।
मेची लोकमार्गअन्तर्गत इलामको सूर्योदय नगरपालिका-७ सुकेपोखरीमा स्कारपिओ गाडी झापाबाट इलामको फिक्कलतिर जाँदै गरेको प्रदेश १–०१–००१ च ९१९३ नम्बरको स्कारपिओ साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको हो ।
बाक्लो हुस्सुका कारण अनियन्त्रित भएर स्कारपिओ सडकबाट ८० मिटरजति तल झर्दा छ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो ।
घाइतेमध्ये बिर्तामोड नगरपालिका–५ का ६० वर्षीय ईश्वरीप्रसाद खरेलको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख बासुदेव खतिवडाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर स्कारपिओ चालक बिर्तामोड–५ का ४८ वर्षीय गणेश पराजुली, बिर्तामोड–४ का ५३ वर्षीय सन्तोष श्रेष्ठ, ४५ वर्षीय डिल्ली बस्नेत, ४४ वर्षीय एकराज विष्ट र बिर्तामोड–३ का ५६ वर्षीय टसबहादुर श्रेष्ठ घाइते भएका छन् ।
त्यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–३ नाम्लोवामा हिजो राति ११ः४५ बजेतिर ट्याक्टर पञ्चमुखीदेखि थोक्लेबुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
एसपी खतिवडाका अनुसार दुर्घटनाग्रस्त ट्याक्टरले किचेर चालक फालेलुङ–३ का २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन साँवाले ट्याक्टर चलाएको प्रहरीले जनाएको छ ।साङ्केतिक तस्बिर