सुनसरी / धनकुटाको देउरालीमा विद्यार्थीलाई यौ’न दुर्व्य’वहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका- ८ सान्ताङस्थित देउराली मा:विका ४० वर्षीय शिक्षक धनकुटाको सहिदभूमी गाउँपालिका- ३ कुङलाङ घर भएका चन्द्रकुमार राईलाई उजुरी दर्ता भएपछि पक्राउ गरेको हो । राईले आफ्नै विद्यालयका ६ देखि १० कक्षामा अध्ययनरत ८ जना बालिकामाथि यौ’न दुर्व्य’वहार गरेको प्रहरीमा उजुरी परेको हो ।
हिजो आइतबार अपराह्न उजुरी दर्ता भएसँगै प्रहरीले राति साढे ८ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरेको थियो । राई २०६४ सालदेखि विद्यालयमा राहत दरबन्दीमा पढाउँदै आएका थिए ।
विगत केही वर्षदेखि शिक्षक राईले दुर्व्य’वहार गर्दै आएको बालिकाहरुले बताए । धनकुटा जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीका अनुसार राईले उक्त विद्यालयका १३ देखि १६ वर्ष उमेर समूहका बालिकाको संवेदनशील अं’गमा छुने, लुगा फुकालिदिने, अश्’लील शब्द प्रयोग गर्नेलगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ ।
पछिल्लो समय बालिकाहरु विद्यालय नजाने भन्दै रुवाबासी गर्न थालेपछि सोधखोज गर्दा घटना बाहिरिएको एक अभिभावकले बताए । आइतबार जिल्ला प्रहरी कार्यालयमा अभिभावकसहित उजुरी लिएर पुगेका बालिकाहरुले तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका थिए ।
दिनभर प्रहरीले पक्राउ नगरेपछि आफूहरुले नै संलग्न शिक्षकलाई खोजी विद्यालयमा ल्याएर घेराउ गरेको बालिका तथा उनीहरुका अभिभावकले बताए । पीडित बालिकाहरुको आइतबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए ।