सुनसरी / झापामा जङ्गली हात्तीको आक्रमणमा परेर ८० वर्षका वृद्धको मृत्यु भएको छ ।
झापा प्रहरीका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार घटनामा झापाको बाह्रदशी गाउँपालिका-१ का ८० वर्षीय देवीबहादुर अधिकारीको मङ्गलबार बिहान १० बजेतिर हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
अधिकारीलाई मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा वृद्ध गम्भीर घाइते भएका थिए । उनको थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।
परिवारका सदस्यले हात्तीले आक्रमण गरेको कुरा सुरुमा प्रहरीलाई सुनाएका थिएनन् । वृद्धको मृत्यु भइसकेपछि जानकारी पाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।



