सुनसरी / धरान -२० पकुवाबाट धरान-११ स्थित पानी ट्याङ्की र सर्दु, खर्दु र निशानेबाट धरान- १६ स्थित स्वस्तिकचोकमा पानी आइपुग्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र श्रमदानमा पुगेका धरानबासी जति खुशी थिए, आइतबार पनि त्यति नै खुशी देखिए ।
धरानको भालुखोला र शिवजट्टाबाट झरेको सेउती खोलाबाट पानी ल्याइएपछि रौनक नै छाएको छ । जसरी पकुवा, सर्दु, खर्दु र निशानेको पानी जनश्रमदानबाट ल्याइएको थियो, त्यहाँको पानी पनि जनश्रमदानबाटै धरान- १५ स्थित काठे पुलनजिक खत्रीधारा छेऊमा आइपुगेको हो । जनताको मिहिनेत, परिश्रमका साथ श्रमदानबाट पानी आउनु ठूलो कुरा भएको खोलाको डाइरेक्टर दत्तकुमार लिम्बूले जानकारी दिए ।
पत्रकारमाझ बोल्दै मेयर साम्पाङले दाताले नै खत्रीधारा आसपासमा ट्याङ्की निर्माण गरिदिने बचन दिएको र ट्याङ्की निर्माण गरेर फिल्टर गरी धरान–१५ मा पानी वितरण गर्न थालिने जानकारी दिए । उनका अनुसार धरान–७, ८ र १९ मा पनि सो पानी वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
धरानबासी, देशविदेशदेखि निरन्तर साथ र सहयोगले धरान–१५ मा पानी आइपुगेको मेयर साम्पाङले जानकारी दिए । मेयर साम्पाङले निशाने दोभानबाट सर्दु, खदु र निशानेको पानी ल्याउँदा धेरै राहत मिलेको हुनाले आफूले वर्षायाममै भएपनि त्यहाँबाट पानी ल्याइएको बताए । अहिले मेयर साम्पाङ धरानबासीलाई जसरी पनि पानी खुवाउँछु भन्दै लागिपरेका छन् ।