Friday, March 28, 2025
देशकोशी प्रदेशयो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ :...

यो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ : सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवारी भगवती चौधरी

सुनसरी / नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरी घरदैलो अभियानमा रहेकी छन् ।

उनले इटहरी वडा नम्बर १० र वडा नम्बर ११ बाट जनताको घरदैलोमा पुग्न थालेकी छन् । जनताको घरदैलोमा पुग्दै यहाँका आवश्यकता, जनताको अपेक्षा, गुनासाहरू सुन्दै आफ्ना चुनावी एजेण्डा र निर्वाचनमा होमिनुपरेका कारणबारे बुझाउन थालेकी छन् ।

उनी घर दैलो कार्यक्रममा भनिन्, ‘योपटक कुनैपनि शक्तिले धाँधली गरेर, बाकस साटेर या अन्य षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ । भगवती चौधरी र सिंगो नेकपा एमाले र जनताको अभिमत सुरक्षार्थ खटिन्छ ।’ उनले जनतालाई कुनैपनि लोभ, लालच, डर, धम्कीमा नपरी निष्पक्ष रूपमा ढुक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरिन् ।

चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकास गरेर युवाहरूलाई गाउँघरमै स्वरोजगार बनाउन सकेमात्र आर्थिक उन्नती हुने बताउँदै त्यसका लागि आफूले ३० वर्षमा हुन नसकेको काम ५ वर्षमै गर्ने गरी रोडम्याप बनाएको दाबी गरिन् । स्थानीयले जनमतको सुरक्षाको कुरा उठाउँदा चौधरीले यसपटक कुनै प्रकारको धाँधली र षड्यन्त्र हुन नदिने विश्वास व्यक्त गरिन् ।

नेकपा एमालेबाट प्रदेशसभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहितबहादुर कार्कीसहित पार्टीका नेताहरूको साथमा घरदैलो थालेकी चौधरीले जनताका मुख्य समस्याहरूलाई टिपोट गर्ने, गुनासाहरू सुन्ने र ती समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थानीय मतदाता तथा जनताहरूले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा नगरेको तथा भ्रष्टाचारमा मुछिएकाले यो पटक नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको बताएका थिए ।

योपटक जनताले निर्वाचित गरेको खण्डमा आफ्नो क्षेत्रमा विकासको लहर ल्याउने साथै संघ सरकारमा रहेर महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, कृषक, उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने र नीति निर्माण गर्ने उनको जिकिर छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img