सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् ।
यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आज शनिबार घरदैलोकोका क्रममा सुन्दरहरैंचा- १२ पुगेकी थापालाई महिलाहरूले जिताउने प्रतिबद्धता समेत जनाएका छन् ।
रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् ‘धेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो, हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर उनले भनिन् ।
प्रतिस्पर्दामा मोरङ क्षेत्र नम्बर- ३ मा नेकपा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनील शर्मा चुनावी मैदानमा छन् । यही क्षेत्रकी बासिन्दा समेत रहेकी राप्रपाकी थापा चुनावी मैदानमा होमिदाँ चुनावी माहोल थप रोचक बनेको छ ।
यस्तै, बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका छन् । अघिल्लो पटकको निर्वाचनमा विजयी भएका नेताले जनतालाई दिएको आश्वासन पूरा गर्न नसक्दा पुराना दलहरूप्रति मतदाता आक्रोशित छन् ।