चितवन । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको चुनावका लागि चितवन–२ रोजेका छन् ।
पार्टीको सांगठनिक संरचना प्रभावकारी नभए पनि करिव एक महिनामा रवि चुनावी अभियान लिएर चितवनका ग्रामीण भेगसम्मै पुगिसके । टेलिभिजनको पर्दामा देखिरहेका रविलाई उम्मेदवारका रुपमा आफ्नो घरदैलोमा पाउँदा मतदाताले रुचीपूर्वक सुन्ने गरेका छन् ।
उनले पनि ठूला दलप्रति मतदातामा रहेको असन्तुष्टिलाई मतमा बदल्न सक्दो प्रयास गर्ने गरेका छन् ।
रास्वपाका नेताहरुका अनुसार रविलाई काठमाडौं–२ मा चुनाव लड्न सुझाव दिइएको थियो । उनी पनि लगभग तयार भइसकेका थिए, तर अन्तिम समयमा चितवन रोजे । पत्रकार शालिग्राम पुडासैनीको आ’त्मह’त्या दुरुत्साहन मुद्दामा हिरासतमा रहेका बेला आफ्नो पक्षमा देखिएको समर्थनका कारण चितवन रोजेको उनले बताउने गरेका छन् ।
चितवनको पनि क्षेत्र नम्बर २ कि ३ भन्ने थियो । रविले २ रोजे । केन्द्रीय सभापति आफैं उम्मेदवार भएकाले यो क्षेत्रको चुनावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाएको छ । तर उनको पार्टीको देखिने पडक क्षेत्र छैन, त्यसैले पहिलो पटक मतदान गर्नेहरुलाई आफ्नो पक्षमा पार्ने र यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपाजस्ता दलमा मतदान गरेका मतदाताको मत तान्नुपर्ने र राप्रपाको मत तान्ने प्रयासमा छन् ।
अहिलेसम्म ठूला पार्टीका नेता वा कार्यकर्ता लामिछानेका पक्षमा कोही खुलेर लागेको देखिएको छैन । तर ग्रामीणभन्दा सहरी क्षेत्र, त्यसमा पनि महिला मतदाताको आर्कषण उनीप्रति देखिन्छ ।
यहाँ एमाले र कांग्रेसको आ–आफ्नै उम्मेदवार छन् । अहिलेसम्म उनले तान्ने मत जितका लागि निर्णायक हुन्छ वा हुन्न यसै भन्न सकिने अवस्था छैन । कांग्रेसभित्र किचलो बढ्दै जाने र एमालेले पनि आफ्नो जनमतको संरक्षण गर्न नसक्ने हो भने लामिछानेले पहिलो प्रयासमै जित निकाल्न सक्छन् । तर ठूला दलको भोट तानेकै भरमा उनको जित निश्चित हुने अवस्था अहिलेसम्म देखिएको छैन ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले दोस्रो संविधानसभा निर्वाचन–२०७० का साथै आम चुनाव–२०७४ मा यही क्षेत्रबाट जितेका थिए । २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । यो पटक अवस्था फेरिएको छ ।
अघिल्लो पटक उनको साथमा रहेको माओवादीसँगै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी कांग्रेससँग गठबन्धनमा छ ।
रविसँगै कृष्णभक्तले आक्रामक रुपमा प्रचारमा जुटिरहँदा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ भने आन्तरिक कलहसँग जुधिरहेका छन् । श्रेष्ठले सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रसहितका दलको मत भने पाउने देखिन्छ । आत्मह’त्या दुरुत्साहनको मुद्दामा रवि चितवन प्रहरीको हिरासतमा रहेकै बेलादेखि माओवादीसँग उनको सम्बन्ध बिग्रिएको थियो । त्यसैले माओवादीका मतदाताको भोट रविले नपाउने एक माओवादी नेता बताउँछन् ।