सुनसरी | ताप्लेजुङको सदरमुकाममा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
फुङलिङ नगरपालिका वडा नम्बर- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका- १ का करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका ११ बर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
काठमाडौंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट नातीबाजे शनिबार काठमाडौं जानको लागि सुकेटार विमानस्थल जान हिंडेका थिए । घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।