सुनसरी: ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।
इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरी खरो उत्रिएको हो । प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो ।
बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो । आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएको बेला बैङ्कले अमानवीय र ज्यादतीपूर्ण व्यवहार गरेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रकृगा अगाडि बढाईसकेपनि आइतबार एकाएक हतियारसहितको प्रहरी लिएर आएर बैंकका कर्मचारीहरुले गुण्डागर्दीशैलीमा सुन, पैसा र अन्य सामानहरु जफत गर्न खोजेपछि उद्योग वाणिज्य संघले प्रतिकार गरेको थियो ।
आइतबार राती आकस्मिक बैठक बसेको उवासंघ इटहरीले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण व्यापारी व्यवसायीलाई आह्वान गरेको छ । आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैङ्क लामो समय गलफती गरेपछि फिर्ता भयो ।



