सुनसरी / सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने समूहका पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २९ गते साँझ ५ बजेतिर भएको घटनामा संलग्न पाँचैजनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरिएको हो । पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियोे ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका- १० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र- ८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ गरेको इलाका प्रहरी कार्यलय बराहक्षेत्रले जनाइएको छ । तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए ।
चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको त्यसैलाई बिगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।