सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका – ४ स्थित सन्सारी सिमसारमा शिव भगवानको प्रतिमा राखिएको छ ।
संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी चिटिक्क परेका रंगीन घरहरु साथै विभिन्न मूर्तिहरु रहेका पर्यटक आर्कषसत हुने गरेका छन् ।
एकै ठाउँमा चिया बगान, ताल, बोटिङ्ग, मिनि चिडिया घरसहित धार्मिक आस्थाका मूर्तिको समेत दर्शन गर्न पाइने भएकाले विभिन्न विद्यालयले विद्यार्थी भ्रमण ल्याउने गरेको छ ।
कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्न वर्षौ पर्यटक पाख्रिबास पुग्ने गरेका छन् । अहिले भने यो सिमसार क्षेत्रले समेत पाख्रिबासमा थप पर्यटक तान्न मद्दत गरेको स्थानीयले बताउछन् । पोखरीको बिचमा रहेको शिव भगवानको प्रतिमाले पर्यटकको मन लौब्याउने गरेको छ ।
शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। साउन महिनामा शिव भगवानलाई प्रिय मानि पुजाआजा गरिन्छ। पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जसमध्ये महादेव, शंकर, भोलेनाथ, रुद्र आदि प्रसिद्ध छन् ।
जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिवभक्तहरूको विश्वास पाइन्छ । विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष छ भन्ने मान्यता रहेको छ ।



