सुनसरी / सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी १९ तरहराका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मङ्गलवार सफाई दिएपछि बुधबार दिँउसो उनी झुम्का कारागार सुनसरीबाट रिहा भएका छन् ।
कारागार गेटमा उनलाई स्वागत गर्न परिवारका सदस्य,आफन्त र सयौँ स्थानीय उपस्थित थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिनाइजाजत बैङ्क तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।
बिना इजाजत बैङ्क तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको हो । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैङ्क तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै लालबहादुर उच्च अदालत गएका थिए । उच्च अदालतमा पटक पटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।
इटहरी २० तरहरामा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने काम गर्ने लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगी गरेको अर्को मुद्दामा ७० हजार जरिवाना सहित डेढ वर्ष कैद तोकेको थियो । हाल उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा थिए ।



