सुनसरी / सामाजिक सञ्जालहरुमा आर्कषक तलव देखाएर बिज्ञापन गर्ने इटहरीको एक कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने एम के गु्रपमा उपमहानगरले आईतवार दिउँसोअनुगमन गरेको हो ।
लामो समयदेखि सामाजिक सञ्जालमा अडियो, भिडियो तथा पर्चामार्फत विज्ञापन प्रकाशन गरेको देखिएपछि सर्वसाधारणलाई ठगीबाट बचाउन आइतबार छापा मारिएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार ग्रुपले विज्ञापनबाट विशेषतः कलेज पढ्ने युवाहरूलाई आकर्षित गरी आफ्नो ब्राण्डका सामानको मार्केटिङका लागि परिचालन गर्ने गरेको देखिएको छ । उपमहानगरपालिकाको टोली छापा मार्न पुगेपछि भने सो ग्रुपले मार्केटिङकै कामका लागि मानिसलाई आकर्षित गरिएको स्वीकार गर्दै आइन्दा यस्तो विज्ञापन नगर्ने बताएको मेयर पौडेलले उल्लेख गरेका थिए ।
यद्धपि, कम्पनीका कागजातसहित पालिकामा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिइएको उनले प्रष्ट पारे । घटनालाई इलाका प्रहरी कार्यालय इटहरीले पनि नजिकबाट हेरिरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेले जानकारी दिए ।
यस किसिमका भ्रामक विज्ञापन प्रकाशन गर्नु गैरकानूनी काम भएको भन्दै उनले तत्काल नरोके कारबाही गर्ने चेतावनी दिए ।