सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा जारी गरेपछि धरान जाने सवारीसाधन इटहरी २० स्थित तरहरामा रोकिएका छन् ।
बाक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन तरहरामा ठप्प भएको हो । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोली परिचालन गरेको छ ।
प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको जनाएको छ । काठमाडौँसहित, झापाको बिर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङतिरबाट आउने सवारी साधन पनि ठप्प भएका छन् । यस्तै, विराटनगरसहित स्थानीय लोकल बससहित विभिन्न अत्यावश्यक सवारी साधनलाई पनि प्रहरीले तरहराबाटै फर्काएको छ ।
यता, धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै आज हिन्दुवादीहरूले शान्तिपूर्ण र्याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएपछि प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी गरेपछि ॐ कार परिवारले शुक्रबार साझ इटहरीमा पत्रकार सम्मेलन गर्दै धरानमा गएर शान्तिपूर्ण र्याली प्रदर्शन गरेरै छाड्ने जनाएका छन् ।
जसकारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन् ।उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् भने मोरङको केराबारी क्षेत्रबाट आउनेहरू उतै रोकिएका छन् ।