सुनसरी / मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५÷७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ । बसले बिहान ५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
शव सोही अस्पतालमा राखिको छ । प्रहरीले मृतकको पहिचानको प्रयास भइरहेको जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।